विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन

काठमाडौं – बाढी पहिरो, डुवान लगायतका प्राकृतिक विपत्तिबाट मुलुकले वर्षेनी ठूलो धनजनको क्षति व्यहोर्दे आएको छ ।
वर्षायाममा तराईमा बाढी र डुबान तथा पहाडमा पहिरोका कारण ठूलो क्षति हुँदै आएपछि सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेर आवश्यक काम अघि बढाएको छ ।
सरकारले विपद् जोखिम न्यूनीकरणका लागि वर्षायाम सुरु हुनुअघि मात्र आवश्यक प्रबन्ध मिलाए पनि जोखिम न्यून भएको पाइदैन । त्यसै कारण सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नै गठन गरेर वर्षभरि नै यस मार्फत जोखिमयूक्त क्षेत्र पहिचान गरी सावधानीका लागि कार्ययोजना बनाउने, सरोकारवाला निकायहरू बीच समन्वय गर्ने, बाढि पहिरो लगायतका विपत्तिको पूर्वानुमान प्रणालीको विकास गर्ने लगायतका कामहरु सुरु गरेको छ ।
२०७२ साल बैशाखको भुकम्पबाट बढी प्रभावित १४ जिल्लाहरु अझै पनि पहिरोको उच्च जोखिममा रहेको हुनाले ति जिल्लाहरूमा केन्द्रीत पूर्वसूचना प्रणाली विकास तथा परीक्षणको तयारी भईरहेको र आगामी दिनमा त्यसलाई परिस्कृत गर्दै लैजाने गरी सुरुवात गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल जानकारी दिनुभयो ।
यस वर्ष प्रि–मनसुनको अवधिमा समेत धेरै वर्षा हुँदा जमिन गलिसकेको छ जसले गर्दा अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष बाढी पहिरोको सम्भावना बढी छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणका कारण समेत उद्धार तथा राहतका लागि समेत अघिल्ला वर्षहरुमा भन्दा यस पटक चुनौती थपिएको छ ।
यी सबै परिस्थितिलाई ध्यानमा राखेर प्राधिकरणले जोखिम मुल्याङ्कनका आधारमा सबै जिल्लाहरुमा उद्धार तथा राहत सामग्रीहरू पुर्याएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।
विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीका लागि सबै संघीय मन्त्रालय, स्थानीय सरकार, जिल्ला विदप् व्यवस्थापन समितिहरु, प्रादेशिक सरकारहरु र सबै साझेदार संस्थाहरु सबैको संयूक्त प्रयासबाट मात्र यो सम्भव हुने भएकाले त्यसैअनुसार प्राधिकरणले पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको पनि प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै, प्राकृतिक विपत्तिमा उद्धार कार्यका लागि सशस्त्र प्रहरीले पनि प्रत्येक वर्ष तालिम तथा अन्य विभिन्न उपकरणहरुसहित दक्ष जनशक्ति तयार गरि परिचालन गर्ने गरेको छ । यसपटक पनि प्राकृतिक विपत्तिसँग जुध्नका लागि सशस्त्र प्रहरीले भण्डै १२ सय जनाको समुहलाई आवश्यक तालिम तथा उपकरणहरू उपलब्ध गराई तयारी अवस्थामा राखेको र उनीहरुलाई जुनसुकै बेला पनि परिचालित हुन सक्ने अवस्थामा रहन समेत निर्देशन दिएको सशस्त्र प्रहरीका प्रवक्ता नायब महानिरीक्षक प्रविण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा पहिरोबाट औषत १ सयजना र बाढी तथा डुबानबाट ८० जनाको ज्यान जाने गरेको प्राधिकरणको तथ्यांक छ । यस वर्ष पनि वर्षायामको सुरुमै पर्वत र पाल्पामा गएको पहिरोबाट १ दर्जन बढीको ज्यान गईसकेको छ ।
प्राकृतिक विपद् विना जानकारी आउने हुनाले यसबाट सुरक्षित रहन जोखिम क्षेत्रका बासिन्दाहरुका साथै सम्बन्धित निकायले समयमै सतर्कता अपनाउने र जोखिम न्यूनीकरणका उपायहरु अबलम्बन गर्न जरुरी छ ।








प्रतिक्रिया राख्नुहोस्