लकडाउनमा चोरी भएका मोटरसाईकल खोजतलास गरी धनिलाई जिम्मा
काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाका म्हैपि, बालकोट, किर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकष्ठ, गोकर्णेश्वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ठमेल, ट्रामा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती, किर्तिपुर, पशुपती पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावाहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धीत धनिलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाउनु भएको हो ।
महाशाखाका प्रमुख भिम ढकालले भन्नुभयो “पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अबस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाईकल बढी चोरी हुन्छन् ।’’
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिनुभयो ।
महाशाखाले यस आ.व. ०७६/०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३६ जना व्यक्तीलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्