तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी नाका नजिकै फहराइयो नेपालको झण्डा

कञ्चनपुर । १३ औं गणतन्त्र दिवसका अवसरमा कञ्चनपुरमा फरक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कञ्चनपुरको गड्डाचौकीमा राष्ट्रिय झण्डा फहराइएको हो । १३ औं गणतन्त्र दिवसको अवसर पारी नेपाल प्रवेशको पश्चिमी सीमा नाका नजिकै रहेको गड्डाचौकीमा ७७ फिटको स्तम्भमा नेपाली झण्डा फहराइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।

नेपाल र नेपालीको पहिचानका लागि भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाका नजिकै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको प्रमुख आतिथ्यतामा झण्डोत्तोलन गरिएको हो । झण्डोत्तोलन पछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पश्चिमी नाकामा राखिएको झण्डाले राष्ट्रको प्रतिनिधित्व गरेको बताउनुभयो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पश्चिमी नाकामा फहराएको झण्डाबाट नेपाल र नेपालीको पहिचानलाई विश्वभर थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोना भाइरसको महामारीका कारण १३ औं गणतन्त्र दिवस विशेष कार्यक्रमलाई सामान्य रुपमा मनाइएको उल्लेख गर्दै नगर प्रमुख विष्टले सो कार्यक्रमबाट देशभर भावानात्मक एकताको सन्देश प्रवाह भएको दाबी गर्नुभयो । नगर प्रमुख विष्टले नाकामा झण्डा फहराउन वडा कार्यालय सहित विभिन्न क्षेत्रका सरोकारवालाको सहयोग रहेको बताउनुभयो ।

भीमदत्त नगरपालिकामा गत वर्षदेखि झण्डा फहराउने कार्य सुरु गरिएको थियो । नगरपालिकाले झण्डासंगै पार्क निर्माण गर्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button