बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मङ्गलवार प्रदेश सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले राखेका सबै संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
प्रदेशसभा सदस्य रमेश पौड्याल, निमा लामा, पुकार महर्जन, प्रभात तामाङ, राधा घले, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले प्रदेशसभामा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।प्रदेशसभा सदस्य रमेश पौड्याल र रिना गुरुङले प्रदेश सरकारले सञ्चार गृह सञ्चालन गर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
त्यस्तै प्रदेशसभा सदस्य शोभा शाक्यले महिलाको पाठेघरको क्यान्सरको निशूल्क उपचार हुने भन्ने विषय नीति तथा कार्यक्रममा समावेश गर्न संशोधन दर्ता गराउनुभएको थियो भने प्रदेश सभा सदस्य रिता माझीले ३० वर्षभन्दा बढी उमेरका महिलाको स्तन तथा पाठेघरको हरेक वर्ष निःशुल्क परीक्षणको व्यवस्था हुने कुरा नीति तथा कार्यक्रममा समेट्न माग गर्दै संशोधन दर्ता गराउनुभएको थियो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले सहभागिता जनाउनुभएको थियो । प्रदेशसभा सदस्यले छलफलका क्रममा प्रस्तुत गरेका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्नुभएको थियो ।
कोरोना सङ्क्रमणको जोखिमका कारण नीति तथा कार्यक्रमको छलफललाई भने छोट्ट्याएको थियो ।







प्रतिक्रिया राख्नुहोस्