सुर्खेतबाटै अब कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण हुने

सुर्खेत । कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत आइपुगेको छ । कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण तथा उपचार अब सुर्खेतमै सम्भव भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौंबाट जहाजमा ल्याइएको जर्मनमा बनेको कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन लिन (आज) बिहिबार सुर्खेत विमानस्थलमा आइपुग्नु भएका कर्णांली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अब ‘क्रस भेरिफिकेशन’को काम प्रदेश अस्पताल सुर्खेतमै हुने भएकाले धनगढी र काठमाडौं पठाउनु पर्ने बाध्यता अन्त्य हुने जानकारी दिनुभयो ।

यसअघि सुर्खेतमा रहेको पीसीआर विधिबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन ‘क्रस भेरिफिकेशन’ गर्न भन्दै संक्रमण देखिएका व्यक्ति र अन्य केही नमुना अन्तिम काठमाडौं पठाउनु पर्ने बाध्यता रहेको थियो ।
सुर्खेतमा रहेको मेशिनले दैनिक ११ देखि १४ वटा नमुनाको जाँच हुने गर्दथ्यो । उहाँले ठूलो क्षमताको आरटीपीसीआर मेशिनबाट आउँदो आइतबारदेखि कोरोना परीक्षण शुरु हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त मेशिनबाट दैनिक ९६ वटा नमूनाको परीक्षण सहजै गर्न सकिनेछ । रु.२५ लाख लागतको उक्त आरटीपीसीआर मेशिन प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुनेछ ।
कोरोना भाइरस (कोभिड–१९)को परीक्षण कर्णाली प्रदेशमै हुने भएपछि यहाँका बासिन्दा निकै खुशी भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्