पर्यटन पुर्नउत्थान गर्न बार्षिक एक महिना पर्यटन विदा दिने सरकारको योजनाः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमणका कारण नेपालको पर्यटन क्षेत्रमा भएको क्षतिको तथ्याङ्क संकलनको कार्य भइरहेको बताउनु भएको छ ।
मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा हाल कति लगानी रहेको छ भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्याङ्क नरहेकोले त्यस्तो तथ्यांक संकलन पनि गरिन लागेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्तरक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताउनुभयो ।
उहाँले कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले बार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको र आगामी दिनमा नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनु आवश्यक भउकोमा पनि जोड दिनुभयो ।
मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताउनुभयो ।
अन्तरक्रियामा नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत दिपकराज जोशीले कोरोनाको असरबाट नेपालको पर्यटन क्षेत्रमा करिब एक खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको बताउनुभयो । कारेनाको कारण पर्यटन क्षेत्रमा १३ लाख जनशक्तिलाई असर गरेको जोशीले उल्लेख गर्नुभयो ।
होटल संघ नेपालका द्धितिय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले सरकार र निजी क्षेत्र मिलेर तीन वर्ष पर्यटनको पुर्नउत्थान गर्ने अभियानमा केन्द्रित हुन आवश्यक भएकोमा समेत जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्