मेची अस्पतालमा बडी स्यानिटाइजर टनेल र स्वाव कलेक्सन बुथ स्थापना

भद्रपुर, झापा । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन झापाको भद्रपुरस्थित मेची अस्पतालमा बडी स्यानिटाइजर टनेल प्रयोगमा ल्याइएको छ ।
अस्पतालमा आउने बिरामी र तिनीका आफन्तलाई कोरोना भाइरसबाट जोगाउन अस्पतालको अकास्मिक कक्ष नजिकैको प्रवेशद्वारमा बडी स्यानिटाइजर टनेल प्रयोगमा ल्याएको हो ।
झापाको मेचीनगर नगरपालिकास्थित मेची अभियानका संयोजक विजय डालमियाले आफ्नै पहलमा तयार पारेको बडी स्यानिटाइजर टनेल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई हिजो दिउँसो हस्तान्तरण गरेपछि टनेल प्रयोगमा ल्याएएको हो ।
टनेलमा प्रवेश गर्ने मानिसले गेटमा खुट्टाले स्विच थिचेपछि भित्र पस्नासाथ केमिकलयुक्त स्प्रेले बडी स्यानिटाइज हुने संयोजक डालमियाले जानकारी दिनुभयो ।
स्थानीय युवा प्राविधिकको सहयोगमा खानेपानीको पाइप, टुटी, मोटर, ट्याङ्की जडान गरी बिजुलीबाट चल्ने गरी टनेल निर्माण गरिएको बताइएको छ ।

त्यस्तै अस्पतालको आइसोलेसन वार्ड नजिकै थ्रोट स्वाब कलेक्सन बुथ स्थापना गरिएको छ । भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधानले बुथ तयार पारेको अस्पतालले जनाएको छ ।
अस्पताललाई पीपीईको अभाव हुन थालेपछि यस्तो बुथ तयार पारिएको हो । बुथ प्रयोग गर्दा एउटै पीपीई लगाएर धेरै व्यक्तिको स्वाव संकलन गर्न सकिने डा. ठाकुरले बताउनुभयो ।
अहिलेको त्रासपूर्ण अवस्थामा सुरक्षाका दुई प्रविधि जडानले अस्पतालमा आउने बिरामी र तिनका आफन्तलाई सुरक्षित बनाउन सहयोग पुगेको मेसु डा. ठाकुरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्