कोरोना संक्रमितको संख्या सबैभन्दा बढि अमेरिकामा

वासिंगटन डिसी । संयुक्त राज्य अमेरिका विश्वका सबै मुलुकहरुभन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक बन्न पुगेको छ ।
चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको केही समयमै अमेरिकामा यो भाइरसको फैलावट अत्याधिक छिटो गतिले बढिरहेको छ ।
तथ्यांकअनुसार, विहीबार अपरान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित अमेरिकीहरुको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । जुन चीनको भन्दा २ हजार ३ सय ८७ जनाले बढी हो । चीनमा आजसम्म संक्रमितको संख्या ८१ हजार २ सय ८५ छ ।
नयां संक्रमणको दरका हिसाबले अमेरिकामा यो भाइरस यति छिटो फैलिएको छ कि २६ तारिक सांझसम्ममा १३ हजार ६ सय ८५ नयां केसहरु थपिएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा सबैभन्दा बढी संक्रमित भएका छन् ।
पछिल्लो समय चीनमा संक्रमणको दर निकै कम भइरहेकोछ । आज चीनमा ६७ वटामात्रै नयां संक्रमणका केसहरु आएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकमा आजसम्म कोरोना संक्रमणका कारण ११ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् भने अमेरिकाकोे सबैजसो राज्यहरुमा यो भाइरसको संक्रमण फैलिइसकेको छ ।
भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुमा इटाली अगाडि छ । यहां ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ हजार १ सय ५४ जनाको ज्यान गएको छ । चीनमा भने हालसम्म ३ हजार २ सय ८७ ले ज्यान गुमाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्