कोरोना प्रभाव: सरकारी कार्यालय बन्द, यातायात ठप्प

मेलम्ची । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सिन्धुपाल्चोकका सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक अरु सेवा नदिन निर्देशन दिएको हो ।
स्थानीय तह सहित जिल्लाका कार्यालयहरु बन्द गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयबाट सेवा प्रवाह गर्दा भिडभाड हुने भएकै कारण संक्रमण फैलन सक्ने भएकाले यो रोक्नका लागि पूर्व तयारी गरिएको हो ।
मालपोत कार्यालयले विज्ञप्ति मार्फत आफ्नो कार्यालयको सबै कामहरु बन्द भएको जनाएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिकालगायत सबै स्थानीय तहले अत्यावश्यक काम बाहेक अरु सेवा नहुने जनाएका हुन् । स्थानीय तहले स्वास्थ्य शाखा र एम्बुलेन्स सेवा भने हुने जनाएको छ ।
त्यस्तै सरकारको निर्देशन अनुसार आज (सोमबार) बाट सार्वजनिक यातायात बन्द गरिएको छ । साना सवारी साधन पनि एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेश दिइएको छैन । यातायात बन्द हुँदा राजधानीबाट सिन्धुपाल्चोकसहित विभिन्न जिल्ला जाने यात्रुहरु विचमै रोकिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्