तपाईँ सुन्दै हुनुहुन्छः

सुनकोसी गाउँपालिकामा सामुदायिक होमस्टे सञ्चालन हुँदै

मेलम्ची। होमस्टे प्रवद्र्धन गर्ने उद्वेश्यले सुनकोसी गाउँपालिका ३ कालिकामा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ । प्रदेश सरकारको सहयोगमा होमस्टे सञ्चालनका लागि सामुदायिक भवन निर्माण सुरु भएपछि गाँउमा खुसीयाली छाएको छ । एक कार्यक्रमकाबीच प्रदेश सभाका अर्थ तथा विकास समिति सभापति सरेश नेपालले कालिकास्थित उखुबारी सामुदायिक होमस्टेका लागि भवन शिलान्यास गर्नुभयो ।

सुनकोसी किनारको सुकुटे क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका बेला कालिकामा होमस्टे सञ्चालनको तयारी गरिएको हो । पर्यटन विकासकै आधारबाट समृद्ध कालिका निर्माणका लागि होमस्टेको अवधारणा अघि सारिएको स्थानीय अगुवा एवम् उखुबारी सामुदायिक होमस्टे संचालन समितिका अध्यक्ष पुरुषोतम प्याकुरेलले बताउनुभयो ।

होमस्टका लागि सामुदायिक भवन शिलान्यास गर्दै सांसद सरेश नेपालले पर्यटनलाई जनताका जीवनसँग जोड्दै समृिद्धको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।

स्थानीय उत्पादनमा जोड दिँदै प्रकृति तथा पर्यावरण संरक्षण गर्दै उखुबारी सामुदायिक होमस्टे संचालन गरिने पर्यटन व्यवसायी पुष्पराज पराजुलीले बताउनुभयो ।

व्यवस्थित र नमुना होमस्टेका लागि वडा तहबाट आवस्यक नीति योजनाका साथ अघि बढ्ने वडाध्यक्ष रामहरी खड्काले बताउनुभयो । बागमती प्रदेश सरकारले यसवर्ष उखुबारी सामुदायिक होमस्टेका लागि भवन निर्माणको शिर्षकमा १५ लाख रकम विनियोजन गरेको थियो । सामुदायिक होमस्टेकन लागि दिब्यदृष्टि कन्सलटेन्सी प्रालिले गुरुयोजना तयार गरिरहेको छ । होमस्टेका लागि सामुदायिक भवन शिलान्यास कार्यक्रममा नेकपा सुनकोसीका अध्यक्ष प्रेमलाल लामा, व्यवसायी एवम् समाजसेवी टपिन्द्र तिमल्सिना लगायतको उपस्थिति थियो ।

समिति नै निर्माण गरि सहकारीको मोडलमा उखुबारी होमस्टे संचालन हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button