कोरोना प्रभाव : तनहुँमा हुन लागेका छिम्केश्वरी पर्यटन महोत्सवदेखि राष्ट्रिय साहित्य सम्मेलनसम्म स्थगित

तनहुँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण तनहुँको बिभिन्न ठाउँमा हुन लागेका बिभिन्न मेला महोत्सव र सम्मेलन स्थगित भएको छ ।
यही फागुन २५ गतेदेखि फागुन २७ गते सम्म सञ्चालन हुन लागेको छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ स्थगित भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरिएको आबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
त्यस्तैगरी गण्डकी वाङ्मय प्रतिष्ठानले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन समेत स्थगित गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगित भएको जानकारी गराएको हो ।
‘भाषा, साहित्य र संस्कृतिको उत्थान स् साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले आयोजना गर्न लागेको साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगे पनि हाललाई उक्त कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरि विश्व हिन्दु महासंघ नेपालको आयोजनामा गर्ने भनिएको सनातन धर्म सस्कृति विषयक अन्तराष्ट्रिय महासम्मेलन स्थगित हुन पुगेको छ । महासंघको आयोजनामा चैत १ देखि ४ गतेसम्म व्यास जन्मभूमि दमौलीमा अन्तराष्ट्रिय महासम्मेलन आयोजना गरिएको थियो ।
महासंघका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारीले जानकारी दिनुभए अनुसार विश्व व्यापी रुपमा कोरोना भाइरस फैलिएको अवस्थामा नेपाल सरकारको अनुरोध र आम जनस्वास्थ्यको सम्वेदनशीलतालाई मध्यनजर गर्दै महासम्मेलन स्थगित गरिएको हो ।
अध्यक्ष अधिकारीका अनुसार महासंघको बुधबार बसेको केन्द्रीय कार्य समिति बैठकले सो निर्णय गरेको हो । अध्यक्ष अधिकारीका अनुसार हालका लागि स्थगित भएको महासम्मेलन वि.स.२०७७ असोज १६ देखि १९ गते सम्म आयोजना गरिने निर्णय समेत बैठकले गरेको छ ।
सतर्कता अपनाउन प्रशासनको अपिल
चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ ।
जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पण्डितले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उहाँले बताउनुभयो ।
अस्पतालमा विशेष सावधानी अपनाउन, भिडभाड गरेर फागु नखेल्न, ठुला सभा तथा समारोह र भोजभतेर नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको हो ।
त्यस्तै निरन्तर रुघा खोकी लागे र ज्वरो आईरहे स्वास्थ्य संस्थामा गई चेकजाच गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्