तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट पाँचथरको सुख्खा क्षेत्र खानेपानी आयोजना उद्घाटन हुँदै

फाइल तस्बिर

पाँचथर । प्रधानमन्त्री केपी ओलीले आज पाँचथरको कुम्मायक गाउँपालिकाको सुख्खा क्षेत्रमा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको पाँचथरको यासोक बजारमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारले आज भन्दा चार बर्षअघि सो क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरी २०७२ सालबाट उक्त तमोर लिफ्ट खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो ।

तेहथुम र पाँचथर जिल्लाको बीच भएर बग्ने तमोर नदीबाट लिफ्ट गरेर सञ्चालन गरिने उक्त खानेपानी आयोजनाबाट पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाका यासोक, रानीगाउँ,स्याबरुम्बाका चार वटा वडाका एक हजार सात सय घरधुरीलाई खानेपानीको सुबिधा हुने तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा पुर्व राज्य मन्त्री डम्बरसिंह सम्बाहाम्फेले बताउनुभएको छ ।

प्रधानमन्त्री खड्कप्रसाद ओलीको जन्म थलो तेहथुम जिल्लाको आठराई इवामा आजै उहाँको जन्मोत्सव कार्यक्रम आयोजना गरिएको र प्रधानमन्त्री ओली पाँचथरको खानेपानी आयोजना उद्घाटन कार्यक्रम सकेर आफ्नो जन्मथलो आठराई इवा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी ओली पाँचथर आउने कार्यक्रम रहे पछि पाँचथरको सदरमुकाम फिदिममा हिजोदेखि नै निकै चहलपहल शुरु भएको छ । सो कार्यक्रममा सहभागी हुन झापा, इलाम, ताप्पलेजुङदेखिका नेकपाका कार्यकर्ताहरु, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरुको फिदिममा बाक्लो उपस्थिति रहेको छ भने यहाँका होटलहरुमा भरीभराई रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button