दुई हजार मेगावाटका जलाशयुक्त आयोजना निर्माणको तयारी
काठमाडौं । सरकारले करिब दुई हजार मेगावाट क्षमताका जलाशयुक्त आयोजना निर्माणका लागि तयारी थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलायुशक्त आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।
दूधकोशी जलाशयुक्त आयोजनाको क्षमता ८०० मेगावाट र माथिल्लो अरुण जलविद्युत् आयोजनाको क्षमता एक हजार १०० मेगावाट बराबर रहेको छ ।
हाल निर्माणमा रहेका एकाधबाहेक अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका भएकाले ऊर्जा सुरक्षाका लागि समेत जलाशयुक्त आयोजना जरुरी भएकाले ती आयोजनाको निर्माण शुरु गर्न तयारी थालेको उर्जा मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ती महत्वपूर्ण जलाशयुक्त आयोजनाको स्रोत व्यवस्थापनका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।
माथिल्लो अरुणलाई नेपाली जनताको समेत लगानीमा निर्माण गर्ने तयारी गरिएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
त्यस्तै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ । सो आयोजनामा लगानीका लागि एशियाली विकास बैंकले चासो व्यक्त गरेको छ ।
६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७, ओखलढुङ्गाको ४७९ र सोलुखुम्बुको १४ गरी एक हजार १५० घरधुरी स्थानीयवासी प्रभावित हुने भएका हुन् ।
सो आयोजना सञ्चालनमा आएपछि विद्युतीसँगै दूधकोशी जलाशयमा जलविहार, माछापालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्