‘मोतियाविन्दुमुक्त नगर’ अभियान सञ्चालन
काभ्रेपलाञ्चोक-पाँचखाल नगरपालिकामा मोतियाविन्दुमुक्त नगर अभियान थालिएको छ । सो अभियानअन्तर्गत हालसम्म १२४ वृद्धवृद्धाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ ।
वडास्तरमा वृद्धवृद्धाको सामान्य स्वास्थ्य परीक्षणबाट मोतियाविन्दु देखिएकाको स्थानीय तथा काठमाडौँस्थित अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेषगरी वृद्धवृद्धा तथा महिलालाई विशेष प्राथमिकता दिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाबाट छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टोली खटाई गर्भवती तथा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गराई प्राथमिक स्वास्थ्य सेवाअन्तर्गत केन्द्रीय सरकारबाट प्राप्त हुनेमा नगरले थप गरी १०० थरिका औषधि निःशुल्क वितरण गर्दै आइएको खरेलले बताउनुभयो ।
नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको घरमै पुगेर गर्भ जाँचअन्तर्गत चिकित्सक टोलीले भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराउँदै आएको छ । समय तालिका बनाएर गर्भवतीको घरमै गई सेवा दिँदै आइएको नगरउपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो ।
उहाँका अनुसार ‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ भने हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवतीलाई गर्भ जाँच सेवा दिइनेछ । एक महिलाले कम्तीमा तीनपटक गर्भ जाँच गराउनुपर्ने हुन्छ । सोहीअनुसार नपाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ ।
गर्भ जाँचका क्रममा गर्भवतीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको छ । नपाभित्रका अधिकांश गर्भवतीले गर्भ जाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख दनुवारले बताउनुभयो ।
‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमसँगै प्रत्येक वडामा नगर कार्यपालिका प्रतिनिधि तथा स्वास्थ्य कर्मचारीको सहभागितामा घुम्ती बैठक गरिने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्