तपाईँ सुन्दै हुनुहुन्छः

भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु

जाजरकोट-विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य शुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिनुभयो ।

डिसहोमलगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान शुरु भएको हो । निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले जानकारी दिनुभयो । पहिलो चरणमा शिवालय गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका १०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

प्रतिपरिवार २५ केजी चामल र पाँच केजी दाल प्रदान गरिएको हो । शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाउँपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको डिसहोमका प्रतिनिधि शर्माले जानकारी दिनुभयो ।

अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाउँपालिका र अरु स्थानीय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ । खाद्यान्न पाएपछि जुनीचाँदे गाउँपालिका–४ का अस्मिता नेपालीले खुसी व्यक्त गनुभयो ।

शिवालय गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर पुन, छेडागाडा–५ का वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनीचाँदेका कार्यवाहक अध्यक्ष शिवा आचार्यले राहत हस्तान्तरण गर्नुभयो । भोक विरुद्धको सहायता अभियानमा डिस होमले नगद रु दुई लाख सहयोग गरेको छ । सत्कार इलेक्ट्रोनिक्स जाजरकोटका प्रोप्राराइटर वसन्तप्रसाद शर्माले ब्यानर र खानबस्नका लागि रु १५ हजार सहयोग गर्नुभएको छ ।

जुनीचाँदेको खाद्यान्न ढुवानीको जिम्मा गाउँपालिकाले लिएको थियो । जाजरकोटबाट शुरु गरिएको भोक विरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि सञ्चालन गरिने अभियानकर्मी कार्कीले बताउनुभयो । खान नपाएर कोही पनि मानिस मर्नु नपरोस् भनेर अभियानको थालनी गरिएको बताउँदै कार्कीले भन्नुभयोे, “हामीलाई विभिन्न व्यक्ति तथा संस्थाले गरिरहेको सहयोगबाट हामी उत्साहित छौँ । हुनेबाट मागेर नहुनेलाई दिने गरी अभियान थालिएको हो । सबैको साझा प्रयासबाट नै यो अभियान सफल हुने हो । तपाइँ हाम्रो थोरै सहयोगले पनि विपन्न वर्गको चुल्लो बल्न सकोस् भन्ने अभियानको उद्देश्य हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button