मेलम्चीको विकासमा काठमाडौँ विश्वविद्यालयले सहयोग गर्ने

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको समग्र दिगो विकासका लागि काठमाडौँ विश्वविद्यालयले प्राविधिक सहयोग गर्ने भएको छ । हिजो काठमाडौँ विश्वविद्यालय र मेलम्ची नगरपालिकाबिच एक सहमति पत्रमा हस्ताक्षर गर्दै यस्तो निर्णय भएको हो ।
समझदारी अनुसार काठमान्डु विश्वविद्यालयले मेलम्ची नगरपालिकाको समग्र र दिगो विकासको लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिकासंगको साझेदारीमा शैक्षिक गुणस्तर सुधारको लागि अनुसन्धान गर्ने तथा नगरको समग्र विकासको लागि आवश्यक अल्पकालीन एवम् दीर्घकालीन परामर्श सेवा उपलब्ध गराउने छ । समझदारी पत्रमा काठमान्डु विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकन्ठ मकाजु श्रेष्ठ र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गर्नुभएको हो ।
यस समझदारीले मेलम्ची नगरपालिकाको शिक्षक तालिम मार्फत सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधार हुने, विशेषज्ञ सहितको स्वास्थ्य सेवा विस्तार हुने, जलाधार संरक्षण एवं विपद् व्यवस्थापनमा सहयोग पुग्ने, स्वरोजगार मूलक सिपयुक्त जनशक्ति उत्पादन हुने तथा वातावरणमैत्री दिगो पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्