रेसुङ्गा बिमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास

गुल्मी । रेसुङ्गा बिमानस्थलको निर्माणको काम आगामी बर्ष सकिने भएको छ ।
अहिले बिमानस्थलका अन्तिम चरणका कामहरु भइरहेका छन् । सोही अनुसार बिमानस्थलको महत्वपूर्ण संरचना टर्मिनल भवन र कन्ट्रोल टावरको आज शिलन्यास गरिएको छ ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलन्यास गर्नुभएको हो ।
टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्यन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभागमार्फत बोकोइ श्रेष्ठ कन्सट्रक्सन जे.भीले निर्माण सम्झौता गरेको छ ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड ५२ लाख नौ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्सट्रक्सनका व्यावस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
२०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम २०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । अहिलेभन्दा कोभिडको सङ्क्रमण नबढेमा अन्तिम मिति अगाडिनै काम सम्पन्न गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।
टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।भुसाल र शर्माले अहिले पनि कोभिडको कारण निर्माणको काम र ढुवानीमा आफुहरुले कुनै अवरोध नगरेको बताउँदै अझै पनि व्यावसायीलाई काममा कुनै समस्या नहुने बताउनुभयो ।

रेसुङ्गा विमानस्थल निर्माणको काम २०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदिपकुमार ज्ञवालीले गर्नुभएको थियो ।
औपचारिक रुपमा २०७२ सालबाट बिमानस्थल निर्माणको काम नियमित भएको छ । पछिल्लो समय ज्ञवालीले बिमानस्थल निर्माणलाई बिशेष चासो दिएकाले आगामी बर्षसम्म सबत्रै काम सम्पन्न गर्ने बिमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो ।
उहाँले कोभिड र आफुहरुको सोच अनुसार निर्माण व्यावसायीहरुले काम गरे समयमै काम सम्पन्न हुने पन्थले बताउनुभयो ।
बिमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिकरण, कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल र बाह्य ढल निर्माणको काम गरेर बिमानस्थल निर्माणको काममा २१ करोड खर्च भएको छ ।

समग्र बिमानस्थल निर्माणको हिसावले आर्थिक तथा भौतिक रुपमा ४५ प्रतिशत काम भएको परियारले बताउनुभयो । त्यो बाहेक धावन मार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर र तारजालीको काम भइरहेको बिमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्