बाढीले साढे चार हजार बढी रोपनी जमिन तथा खेतिबालीमा क्षति
अछाम । अछाममा गत साउन १३ गते र भदौ २ गते आएको अविरल बर्षासंगैको बाढी पहिरोले साढे ४ हजार बढी रोपनी खेतिबाली तथा जमिनमा क्षति पुगेको पाइएको छ ।
रामारोशन गाउँपालिका सहित अन्य पाँच ओटा स्थानीय तहमा गरिएको अनुगमनमा जिल्लामा ४ हजार ५ सय रोपनी जमिनमा क्षति पुगेको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ ।
रामारोशन गाउँपालिका, मंगलसेन नगरपालिका, साँफेवगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिका गरी पाँच स्थानीय तहमा ज्ञान केन्द्रले करिब १ हप्ता लगाएर गरेको अनुगमनमा ७ हजार ५ सय २० क्विन्टल खाद्य बस्तु पनि बाढी पहिरोले नष्ट गरेको कृषि ज्ञान केन्द्र अछामका निमित्त प्रमुख छपेन्द्र प्रसाद शर्माले बताउनुभयो ।
सबैभन्दा बढी क्षति पुगेका जिल्लाका चार स्थानीय तहमा गरिएको स्थलगत अनुगमनमा २५ करोड ८१ लाख ४ हजार ८ सय २० रुपैयाँ बराबरको खाद्य बस्तु नष्ट गरेको बताउनुभयो ।

जिल्लाको रामारोशन गाउँपालिकाको वडा नम्बर १, ४, सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नम्बर ५ सैनिबजार तथा वडा नम्बर ६, ७ सुतार, वडा नम्बर २, वडा नम्बर ३ शान्तडामा गरिएको अनुगमनमा जिल्लाको सबै भन्दा धेरै खेतीयोग्य जमिनमा क्षति पुगेको उहाँले बताउनु भयो । रामारोशन ५, शैनिवजारमा भदौ २ गते राति कैलाशखोलामा आएको बाढीले १७ जना सहित २२ घर पसल समेत बगाएको थियो ।
मंगलसेन नगरपालिकाका वडा नम्बर ३,४,९,१०,१२ र वडा नम्बर १४ मा पनि अनुगमन गरिएको छ । यस्तै साँफेबगर नगरपालिका वडा नम्बर ४, ७, ८,११ र वडा नम्बर १३ मा पनि अनुगमन गरिएको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ र ६ मा तथा चौरपाटी गाउँपालिका वडा नम्बर ४ मा खेतीयोग्य जमिनमा पहिरोले गरेको क्षेतीको अनुगमन गरिएको छ । जिल्लामा बाढी पहिरोबाट ८ हजार ५ सय ७२ जना पीडित भएका छन् ।
रामारोशन गाउँपालिका लगायत अन्य स्थानीय तहमा १ हजार १ सय ७६ जना घरपरिवार पीडित भएको पनि तथ्याङमा उल्लेख गरिएको छ । कृषि ज्ञान केन्द्र अछामले दिएको जानकारी अनुसार बाढी पहिरो बाट ६ ओटा सिँचाइ कुलोहरू पनि पूर्ण रूपमा भत्किएका छन् ।
भत्किएका सबै सिँचाइ कुलोहरू मंगलसेन नगरपालिकाका रहेका छन् । कार्यालय निमित्त प्रमुख शर्माले केन्द्रमा बाँकी रहेका र यस आर्थिक वर्षमा केन्द्रले ल्याएका कार्यक्रमहरू पनि बाढी प्रभावित क्षेत्रमा, रामारोशन लगायतका स्थानीय तहसम्म पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।
उहाँले अछामबाट सङ्घीय संसद् तथा प्रदेशसभा सम्म प्रतिनिधित्व गर्ने सांसद तथा नेता कार्यकर्ताहरूलाई पनि राहतका कार्यक्रम ल्याई दिन अनुरोध समेत गर्नु भएको छ । निमित्त प्रमुख शर्माले तथ्याङ्क सङ्कलन गर्न पनि निकै समस्या भएको भन्दै केही स्थानीय तहको क्षतिको विवरण आउने क्रम जारी रहेकाले अझै क्षतिको आँकडा बढ्ने सक्ने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्