तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेनटाइनमा बसेका ५ वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार

बाँके । कोभिड–१९ को महामारीबाट जोगिन नेपालगन्ज उपमहानगरपालिकाद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको क्वारेनटाइनमा रहेका ५ वर्ष मुनिका बालबालिका र आमालाई लक्षित गरी पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको साझेदारीमा सामुदायिक सशक्तीकरणका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मार्फत बाँके जिल्ला शाखामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रमद्वारा सो पौष्टिक आहार वितरण गरिएको हो ।

रेडक्रस बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीले वितरण गरिएको पौष्टिक आहारमा प्रति बालबालिकालाई स्याउ २ किलो, केरा २ दर्जन, घ्यू ५ सय ग्राम र सर्वोत्तम पिठो २ प्योकटका दरले र स्वास्थ्य सामाग्री (हाईजिन किट) वितरण गरिएको जानकारी दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायतले संयुक्त रूपमा बालबालिकालाई वितरण गर्नुभएको हो । कार्यक्रममा सरसफाइ तथा स्वच्छता सामग्री वितरण गर्नुका साथै कोभिड–१९ सङ्क्रमणको रोकथाम, मलेरिया, परिवार नियोजना, एचआइभी एड्स र झाडापखालाको बारेमा अभिमुखीकरण समेत गरिएको थियो ।

जिल्लामा सञ्चालित क्वारेन्टाइनहरुमा जनचेतनामूलक अभिमुखीकरण, महिलाहरूलाई सरसफाइ तथा स्वच्छता किट वितरण, रेडियो सन्देश प्रसारण, स्वास्थ्यकर्मी र रेडक्रस स्वयेंवकलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण, रेडक्रस स्वयंसेवक परिचालन, बालबालिकालाई पौष्टिक आहार वितरण, क्वारेनटाइनमा सरसफाइका लागि सामग्री सहयोगलगायतका गतिविधि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button