जुम्लामा एकै दिन ५६ जनामा कोरोना संक्रमण

जुम्ला । जुम्लामा एकै दिन ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णालीमै सबैभन्दा बढी संख्याका रुपमा बिहीबार जुम्लाका ५६ जनामा एकैसाथ कोरोना पृष्टी भएको हो ।पुष्टि हुनेहरूमा हिमा गाउँपालिकाका ५१ जना र नाग्म बजारका ५ जना गरी ५६ जनामा कोरोना संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
हिमा गाउँपालिकाका १ सय ३३ जनाको स्वाब सङ्कलन गरिएकोमा गाउँपालिकाका कर्मचारीसहित ५१ जना र नाग्म बजारका ५ जना व्यापारी गरी ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हिमा गाउँपालिकाका १ देखि ७ नं. वडाका सबै बस्तीमा कोरोना संक्रमण फैलिसकेको समेत आशंका गरिएको छ ।

सहायक प्रजिअ देवकोटाले भने,“अघिल्लो पटक हिमामा ८६ जनाका नमुना सङ्कलन गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो । अहिले १ सय ३३ जनाको स्वाब परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजेटिभ आउनुले समुदायमै कोरोना पुगेको समेत पृष्टी भएको छ ।”
स्वाब परीक्षण गराउने १ सय ३३ जनामा १० जना पत्रकार पनि रहेका थिए । पिसिआर परीक्षण गराएका १० जनै पत्रकारको रिपोट नेगेटिभ आएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनु भयो । उहाँका अनुसार “हिमा गाउँपालिकाको सबै बस्तीमा कोरोना पुगिसकेको छ । त्यहाँ नियन्त्रण तथा रोकथाम प्रभावकारी नभएको खण्डमा जिल्ला नै जोखिममा पर्ने देखिन्छ ।”
अघिल्लो पटक हिमा गाउँपालिकाका ८ र नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कनट्याक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कर्णालीमै जुम्लामा यति धेरै सङ्क्रमित देखिएको पहिलो पटक हो । जुम्लाको चन्दननाथ नगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । गत शुक्रबारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

हिमा गाउँपालिकामा अझ धेरै सङ्क्रमित बढ्न सक्ने खतरा छ । प्रजिअ थापाले भन्नुभयो, “अब हिमा गाउँपालिकामै आइसोलेसन बनाउने तयारी गर्नुपर्छ । यस विषयमा हिमाका अध्यक्ष रज बहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढापनि सकारात्मक भएका छन् । आवश्यक जनशक्ति प्रतिष्ठानले व्यवस्थापन गर्ने र आइसोलेसन खर्च पालिकाले व्यहोर्ने हिमाका प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढाले जानकारी दिनुभयो ।
यता प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाइरहेको बताएको छ । कोरोना भाइरसको संक्रमण देखिएका मानिसहरूको यात्रा विवरण र उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआरको दायरा बढाउने तयारी छ । जुम्लाका आठै स्थानीय तहलाई पूर्ण रूपमा सिल गरिएको छ । भने, थप सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । अहिलेसम्म जुम्लामा कोरोना संक्रमतिको सङ्ख्या ७२ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्