छत्रेश्वरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट अँझै आउन सकेन
सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट अझै ल्याउन सकेको छैन । सरकारको नेतृत्व गरेको नेकपाबाट निर्वाचित प्रतिनिधिहरुले गाउँसभा बहिस्कार गरेपछि नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो । चालु आर्थिक वर्ष २०७७/०७८ लागि गत असार १० गते गाउँसभा मार्फत सार्वजनिक गरिएको निति तथा कार्यक्रम र बजेट अझै पारित हुन सकेको छैन ।
विगतका कार्यपालिका वैठकले पारित गरेको निर्णय कार्यान्वयन हुनुपर्ने, आवश्यकता भन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनु पर्ने लगायतका माग गरेर बामबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गर्दै आइरहेका छन् ।
करारमा रहेका कर्मचारी हटाए पछि मात्र गाउँसभा बस्न दिने माग न्यायोचित नरहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । बिहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष केसीले भने ‘विगतमा करारमा कर्मचारी भर्ना गर्दा उहाँहरुको सहमतिमा गरिएको हो तर आज यो मुद्दा उठाएर गाउँसभा रोक्नु युक्तिसंगत छैन ।’
आफुहरु अल्पमत रहेको र बहुमत वामको रहेको बताउदै अल्पमतमा रहेर पनि राम्रो काम ग¥यो भनेर राजनीतिक प्रतिशोध साधन विभिन्न बहाना गरेर गाउँसभा बहिस्कार हुदै आइरहेको उनको भनाई छ । उहाँकै सहमतिमा गाउँसभाबाट काम भइरहेको बताउदै न्यायालयले समेत मुद्दा सदर गरी सकेको उनको भनाई छ । उनले भने ‘असहमतिको बुँदा कुन हो त्यसमा नोट अफ डिसेन्ट लेखेर जानुस सहमतिका बुँदामा एकाकार भएर जाउँ भन्दा पनि वामका साथीहरुले मान्नु भएको छैन ।’
कार्यपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ५ जना नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधी रहेका छन भने १० जना नेकपाबाट निर्वाचित प्रतिनिधि रहेका छन् । पटक पटक बैठक बहिस्कार गरे पनि अन्ततः उहाँहरु (वाम) सहमतिमा आउनेमा आफु विस्वस्त रहेको अध्यक्ष केसीले दावी गरे ।
करार कर्मचारी आन्दोलित
छत्रेश्वरी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेको छन् । आफुहरुलाई राजनीतिक एजेण्डा बनाएको भन्दै करार कर्मचारीहरुले आन्दोलन थालेका हुन ।

करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफुँहरु आन्दोलनमा गएको संघर्ष समिति संयोजक प्रभा डाँगीले बताइन ।
करारमा कार्यरत कर्मचारीहरुको तत्काल नियुक्ति दिइनु पर्ने, करार सम्झौता निरन्तरता हुनु पर्ने, राजनीतिक एजेण्डाको रुपमा आफुहरुलाई प्रयोग नगरियोस लगायतका माग राखेर आन्दोलन थालिएको उनको भनाई छ ।
गाउँपालिकाले १ सय १ जनालाई करारमा कर्मचारी भर्ना गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्