सगरमाथा एग्रोभेटमा प्रहरीको छापा, ७४ बोरा मलसहित एक जना नियन्त्रणमा
राजविराज । सप्तरीको राजविराज नगरपालिका–६ स्थित न्यु सगरमाथा एग्रोभेट सेन्टरमा आज आइतबार प्रहरीले छापा मारेको छ । अवैध रूपमा भण्डार गरी राखेको ७४ बोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको युरिया मल स्थानीय सूर्यनारायण यादवको पसलमा भण्डारण गरी राखेको जानकारी पाएपछि एग्रोभेटमा छापामारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादवको घर तथा पसलमा खान तलासी गर्दा अवैध रूपमा ल्याइएको मल बरामद भएको प्रहरीको भनाई छ ।
पसल तथा पसल अगाडि रहेको स१ज ४६४ नं. को गाडिमा गरी कुल ७४ बोरा युरिया मल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो । प्रहरीले गाडी चालक राजविराज नगरपालिका १५ का ४० वर्षीय महेन्द्र प्रसाद यादव समेतलाई नियन्त्रणमा लिएको छ ।
युरिया मल र गाडीसहित करिब तीन लाख ५५ हजार मूल्य बराबरको सामान चालकसहित भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्