तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका क्वारेनटाइन रित्तिँदै

पाल्पा । दुई महिना अघिसम्म पाल्पाका १० वटै स्थानीय तहमा निर्माण गरिएका दुई सय तीन स्थानका क्वारेनटाइन भरिभराउ थिए । ती क्वारेनटाइनमा तीन हजारभन्दा धेरै जना बसेको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय पाल्पासँग छ । तर अहिले धेरैजसो क्वारेनटाइन खाली छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीका अनुसार अन्य मुलुकबाट आउने क्रम घटेको छ । “अहिले भारत लगायत अन्य देशबाट आउने क्रम एकदमै न्यून भएका कारण क्वारेनटाइनमा बस्नेहरूको सङ्ख्या घटेको छ ।” पन्थीले बताउनुभयो ।

“एक डेढ महिना अघि भारतबाट एकै दिन हजार जना सम्म आएका थिए ।” पन्थीले भन्नुभयो । पन्थीका अनुसार अहिले दैनिक चार÷पाँच जना मात्र आएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार अहिले क्वारेनटाइनमा एक सय ५० जना मात्र बसिरहेका छन् । भारतबाट फर्किनेको सङ्ख्या घटेपछि पाल्पाका क्वारेनटाइन रित्तिँदै गएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले पछिल्लो समय स्वाब सङ्कलन कम भएको बताउनुभयो । न्यौपानेले कोरोना परीक्षणको नतिजा पनि छिटो आइरहेको बताउनुभयो । माण्डण्य सामुदायिक क्वारेनटाइन व्यवस्थापन समितिका संयोजक प्रकाश पङ्गेनीले अहिले क्वारेनटाइनमा एक जना मात्र बसिरहेको बताउनुभयो । “अहिले पहिले मानिस धेरै भएर कसरी व्यवस्थापन गर्ने भन्ने समस्या थियो । अहिले क्वारेनटाइन रित्तिएका छन् ।” उहाँले भन्नुभयो ।

न्यौपानेले अहिले ४० सङ्क्रमितलाई आइसोलेसनमा राखी उपचार गरिरहेको बताउनुभयो । ‘परीक्षण ढिलो हुँदा एकैपल्ट ठुलो सङ्ख्यामा सङ्क्रमण देखियो’ उहाँले भन्नुभयो, ‘उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या बढेपछि आइसोलेसनमा पनि चाप घटिरहेको छ ।’ क्वारेनटाइन रित्तिँदै गएपछि समुदाय स्तरमा परीक्षणको दायरा बढाएको उहाँले जानकारी दिनुभयो ।

सङ्क्रमितहरूलाई लुम्बिनी मेडिकल कलेज, मिसन हस्पिटल, रामपुर र निस्दीका आइसोलेसनमा उपचार गरिरहेको छ । पाल्पामा अहिलेसम्म पाँच सय ५६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जसमध्ये पाँच सय १६ जना निको भएर घर फर्किएका जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

भारतको उत्तर प्रदेश र दिल्लीबाट पछिल्लो समय धेरै नागरिक पाल्पा भित्रिएको सूचना अधिकारी पन्थीले बताउनुभयो । उहाँका अनुसार दुवै ठाउँबाट आएका नागरिकमा सङ्क्रमणको दर पनि बढी देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button