कोरोना भाइरसबाट बच्न सतर्कता देखिएन
सल्यान । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाएसँगै सल्यानमा सुरक्षा सतर्कता कमजोर भएको पाइएको छ । सहर बजार, कृषिलगायतका विभिन्न क्षेत्रमा सुरक्षा सावधानी नअपनाएको पाइएको छ ।
शारदा नगरपालिका–१ का नविन भडेलले व्यापार, व्यवसाय लगायतका क्रियाकलापमा भीड भाड हुने गरेको बताउनुभयो । उहाँले भन्नभयो, बजारमा किनबेच, विभिन्न विकास निर्माण, कृषि कर्ममा कुनै सावधानी अपनाइएको छैन । भौतिक दुरी पनि कायम भएको पाइएको छैन ।
हालसम्म समाजमा कोरोना भाइरस नफैलिएकाले केही लापरबाही जस्तो देखिए पनि यस प्रकारको लापरबाहीले गम्भीर सङ्कट निम्त्याउन सक्ने बताउनुभयो ।
बैङ्क तथा सरकारी कार्यालयहरूमा सतर्कता देखिए पनि बजार तथा गाउँघरमा सतर्कता नदेखिएको बागचौर नगरपालिका–३ का दोर्ण शर्माले बताउनुभयो । विशेष गरी विकास निमार्णका क्रममा धेरै मानिस एकै ठाउँमा जम्मा भएर काम गर्ने गरेको उहाँको भनाई छ । सामाजिक र शारीरिक दुरी कायम गरेको कतै पाइँदैन ।
नेपाल पत्रकार महासङ्घ सल्यानका सहसचिव भीम बहादुर परियारले कोरोना भाइरसबाट बच्न मास्क, सेनिटाईजर आदिको प्रयोग गर्नु पर्ने भए पनि कार्यान्वयन नभएको बताउनुभयो । उहाँका अनुसार किनबेच, कृषि कर्म लगायतका क्षेत्रमा सावधानी नभएको देखिएको छ ।
विदेशबाट तथा भारतबाट आएका नागरिकहरूबाट दुरी कायम गरे पनि खेतीपातीको समय भएकाले जम्मा हुनु पर्ने बाध्यता रहेको कुमाख गाउँपालिका वडा न ६ वडा गाउँका हरि शर्माले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सार्वजनिक क्षेत्र र सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिँदा सावधानी अपनाएको बताउनुभयो । उहाँका अनुसार सरकारी कार्यालयमा आवश्यक सावधानी अपनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्