महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी
सुर्खेत । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा टस जितेर फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमा अलआउट गर्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् । कोशीकी रुविना महलाले पाँच रन, सृजनाकुमारी राजवंशीले चार रनको योगदान दिइन् । कोशीलाई सस्तैमा रोक्ने क्रममा आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी यमुनाले दुई ओभर मेडन राख्दै छ रन खर्चिइन् । यस्तै आर्मीकी मनिषा उपाध्यायले दुई विकेट र कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको आर्मीले १३.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
आर्मीकी ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । २८ बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । यस्तै रुवी पोद्दारले १८, कविता कुँवरले नटआउट १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् । कोशीकी रुविना क्षेत्रीले तीन विकेट हात पारिन् भने एलिशा खादियाले एक विकेट लिइन् । प्रतियोगिताको प्लेयर अफ दि म्याच आर्मीकी यमुना थारु भइन् ।








प्रतिक्रिया राख्नुहोस्