‘एन्टिबायोटिक औषधिको सही प्रयोगबारे जनचेतना आवश्यक’
विराटनगर । एन्टिबायोटिक औषधिको सही प्रयोगबारे जनचेतनाको कमी र जथाभाबी प्रयोगका कारण प्रति जैविक प्रतिरोध (एएमआर) को समस्या बढ्दै गएकाले यस्को सही प्रयोग गर्नुपर्नेमा कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् ।

विराटनगरमा आज आयोजित प्रति जैविक प्रतिरोध न्यूनीकरणका लागि अन्तर-मन्त्रालयगत तथा सरोकारवालासँगको कार्यशाला गोष्ठीमा एन्टिबायोटिक औषधिको बढ्दो र अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेकाले त्यसको रोकथाम र सही प्रयोगमा सहभागीहरूले जोड दिएका हुन ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले एन्टिबायोटिक औषधि आवश्यकताअनुसार र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । औषधिको सही प्रयोगबारे सर्वसाधारणमा जनचेतना बढाउन र यसको दुरुपयोग रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाई थियो ।
मन्त्रालयले एक स्वास्थ्य (वान हेल्थ) अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रति जैविक प्रतिरोध न्यूनीकरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव कृतिपाल सुवेदीले प्रति जैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी र वातावरणसँग पनि जोडिएको विषय भएकाले यसको नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
कार्यशालामा स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. रामहरि रेग्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि राजेश श्रेष्ठ र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख मुकेश नायकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विराट टिचिङ अस्पतालका विभागीय प्रमुख डा. किशोर गुरुङ, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. केनिन राई, प्रदेश योजना आयोगका सदस्य अनिल थापा र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी लगायतले प्रति जैविक प्रतिरोध न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने कामबारे धारणा राख्नुभएको थियो ।
कार्यशालामा प्रति जैविक प्रतिरोध नियन्त्रणका लागि विभिन्न मन्त्रालय, स्वास्थ्य संस्था, औषधि क्षेत्र, पशुपन्छी सेवा तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्