तपाईँ सुन्दै हुनुहुन्छः

‘सरयू–कमला एक्सप्रेस रेल सेवा जनकपुरधामका लागि ऐतिहासिक’

काठमाडौँ । सरयू–कमला एक्सप्रेस रेल सेवाको सुरु भएको अवसरमा जनकपुरधाममा राखिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यो दिनलाई जनकपुरधामका लागि निकै ऐतिहासिक दिन भएको बताउनुभएको छ।

आज जनकपुरधाम आइपुगेको सरयू–कमला एक्सप्रेस रेलको स्वागत गर्दै उहाँले भन्नुभयो ‘आज हामी केवल एउटा रेल गाडीको स्वागत मात्र गरिरहेका छैनौँ, बरु दुवै देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नयाँ यात्राको समेत स्वागत गरिरहेका छौँ।’ 

मङ्सिर ७ गते भारत भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा सरयू–कमला एक्सप्रेसको शुभारम्भ गर्नुभएको थियो।

मन्त्री यादवले राम–जानकीको कथाको सन्दर्भ दिँदै अयोध्या र जनकपुरबिचको सम्बन्ध दुई सहरको मात्र नभई छोरी–ज्वाइँको, परिवारको र आस्थाको सम्बन्ध भएको बताउनुभयो।

उहाँले यही महिनाको अन्त्यमा जनकपुरधामको विवाह पञ्चमी महोत्सव आउँदै गरेको समेत जानकारी दिनुभयो। यस पटक अयोध्याबाट आउने श्रद्धालु तथा भक्तजन रेलबाट पनि आउन सक्ने भएकाले यात्रा अझ सहज भएको उहाँको भनाइ थियो।

सम्माननीय प्रधानमन्त्री शाहले रेल उद्घाटनका क्रममा राम–जानकीको युगौँ पुरानो सम्बन्धलाई नयाँ पुस्ताका लागि विकास र साझेदारीको अवसरमा बदल्नुपर्नेमा जोड दिनुभएको समेत उहाँले बताउनुभयो।

मन्त्री यादवले ऐतिहासिक पहलका लागि दुवै देशका प्रधानमन्त्री, सरकार, भारतीय रेल मन्त्रालय, नेपालको पूर्वाधार विकास मन्त्रालय र संलग्न सबै निकायप्रति आभार व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button