तपाईँ सुन्दै हुनुहुन्छः

सुनकोशी–मरिण डाइभर्सन : ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारी लगायतसँग छलफल गरेर आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने भन्दै ७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिनुभयो ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रो मेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रिया-सङ्गत रूपमा त्रुटिपूर्ण रहेको भनेर सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो ।

बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावलीको संशोधित व्यवस्थाअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको भन्दै ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गर्नुभयो ।

बैठकमा सांसदहरु टनेलको ब्रेकथ्रु भइसकेको अवस्थामा मापदण्ड परिवर्तन गर्नुको कारण स्पष्ट गर्न माग गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button