तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्की र स्विस राजदूतबिच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युवलीबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ । सो अवसरमा दुईपक्षीय हित, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका क्षेत्रमा स्विट्जरल्याण्ड सरकारको तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।  

कोशी प्रदेशको आर्थिक समृद्धिका क्षेत्रमा सञ्चालित परियोजनाहरूलाई छिटोछरितो र प्रभावकारी ढङ्गले अघि बढाउन प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले  विशिष्ट भू-बनावट र भौगोलिक संरचनाका कारण जोखिम क्षेत्रका रुपमा चिनिने नेपालको विपद् व्यवस्थापनसहित जनधनको क्षतिको न्यूनीकरण तथा नियन्त्रणका पक्षमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

यसैगरी, राजदूत डा म्युवलीले विकास र समृद्धिका क्षेत्रमा कोशी प्रदेश सरकारबाट भएका कामको प्रशंसा गर्दै स्विट्जरल्याण्ड सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षासहित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।  

भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण वस्ती र आर्थिक सल्लाहकार मोहन सुवेदीको उपस्थिति रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button