तपाईँ सुन्दै हुनुहुन्छः

बन्द भएको लामो समयसम्म पनि सञ्चालनमा आएन निगाले सिमेन्ट

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा सञ्चालित निगाले सिमेन्ट उद्योग लामो समयदेखि बन्द छ । आर्थिक संकट, कच्चा पदार्थको मूल्यवृद्धि र बजार प्रतिस्पर्धाका कारण बन्द भएको उद्योग पुनः सञ्चालनमा आउन नसकेको जनाइएको छ । 

उद्योग बन्द हुँदा १ सय ५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने करोडौँ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ । कुनै समय धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्ट बजारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको निगाले सिमेन्ट उद्योग अहिले बन्द अवस्थामा छ । 

उद्योगको दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो । तर, आर्थिक संकट र कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै दैनिक तीन हजार बोरामा सीमित भएको थियो । कोरोना महामारीपछि देखिएको आर्थिक मन्दी, भारतबाट आयात हुने कोइला, बक्साइट, लेटराइट र जिप्सम लगायत कच्चा पदार्थको मूल्यवृद्धि तथा सिमेन्ट बिक्रीमा आएको गिरावटले उद्योगलाई थप सङ्कटमा पारेको सञ्चालक दिनेश पौडेलले बताउनुभयो । उद्योग सञ्चालनमा रहँदा धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो । 

उद्योग बन्द हुनुको असर विद्युत् बक्यौतामा पनि परेको छ । उद्योगले गत असोज मसान्तसम्म जरिवानासहित १५ करोड ८३ लाख ८ हजार ६ सय २९ रुपैयाँ ३० पैसा विद्युत् महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धनकुटाले जनाएको छ । छथर जोरपाटी गाउँपालिकाले समेत उद्योगबाट पाउनुपर्ने रकम प्राप्त गर्न सकेको छैन । उद्योगले उत्पादन गर्ने प्रत्येक बोरा सिमेन्टबाट एक रुपैयाँका दरले गाउँपालिकालाई बुझाउने सहमति भए पनि पछिल्लो समय करिब २२ लाख रुपैयाँ बक्यौता रहेको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button