तपाईँ सुन्दै हुनुहुन्छः

  बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

काठमाडौँ। काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीदेखि लागेको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा धार्मिक मेला लाग्ने सनातनी परम्परा रहिआएको छ । यी दिनहरूमा नारायणस्थानमा पुगी पूजा, आराधना एवं दर्शन गरेमा पुण्य प्राप्त हुने र निधनपश्चात् वैकुण्ठमा बास हुने धार्मिक विश्वास रहिआएको बूढानीलकण्ठ नारायणस्थान मठका महन्त स्वामी निगमानन्दले जानकारी दिनुभयो । 

“मन्दिरमा १२ फुट चौडाइ र २४ फुट लम्बाइको अलौकिक शिलामा मूर्ति छ । यो मूर्ति धर्म, संस्कृति, पुरातत्व र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पनि दिव्य स्थलका रूपमा लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

शिलामा स्वयं प्रकट भएको भगवान्को यो रूप विश्वमै अद्वितीय मानिने भएकाले हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको स्वामी निगमानन्दले बताउनुभयो । मन्दिरमा नेपाली र भारतीय धार्मिक पर्यटकको आगमन बढी हुने गरेको छ । पशुपतिनाथको दर्शनमा आउने भारतीय धार्मिक पर्यटक बूढानीलकण्ठ मन्दिरमा पनि पुग्ने गरेका उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ मन्दिरमा लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने गरेका छन् । यो मन्दिरमा हरि र हर अर्थात् विष्णु र शिव दुवै जना रहनुभएकाले पनि यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको श्री बूढानीलकण्ठ नारायणस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिनुभयो । 

यो मन्दिर शैव र वैष्णवका लागि मात्र नभई बौद्ध र किराँत मार्गीका लागि पनि उत्तिकै पवित्र स्थलका रूपमा मानिन्छ । यसैले यो ठाउँ धार्मिक सहिष्णुताको अनुपम नमूना बनेको स्थानीयवासी रामबहादुर केसीले बताउनुभयो ।

यी पाँचदिन उपत्यकाका चार नारायण भगवान्को दर्शन गर्न नसक्नेले बूढानीलकण्ठको मात्र दर्शन गरे पनि चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको स्वामी निगमानन्दले बताउनुभयो । यसो गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । एकै दिन चार नारायणको दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ वा नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा पूजा, आराधना वा दर्शन गर्नाले पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

“द्वापर युगमा मृत्यशथ्यामा रहेका बेला यही पाँच दिनको समयमा भीष्मले युधिष्ठिरलाई उपदेश दिएकाले कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक पनि भनिन्छ । यो समयमा साधना गर्दा सजिलै ब्रह्मज्ञान प्राप्त हुने विश्वास पनि रहेको छ”, उहाँले भन्नुभयो ।

यसै अवसरमा श्री बूढानीलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मङ्सिर २ गतेदेखि ८ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरेको छ । यज्ञ शेष यहाँ सञ्चालित बूढानीलकण्ठ गुरुकुलको सञ्चालनका लागि खर्च गरिने पनि अध्यक्ष थापाले जानकारी दिनुभयो । विसं २०५७ देखि बूढानीलकण्ठ मन्दिर परिसरमा गुरुकुल सञ्चालनमा ल्याइएको हो । गुरुकुलमा हाल ५० जना वैदिक ज्ञानको अध्ययन गर्ने बटुक रहेको समितिले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button