तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा डुङ्गा सयर गर्ने पर्यटकको घुइँचो, दैनिक ८ हजारले गरे सयर

पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा डुङ्गा सयर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँदेखि तिहार हुँदै छठ पर्वसम्मै फेवातालमा दैनिक ७ देखि ८ हजारसम्म पर्यटकले डुङ्गा सयर गर्न थालेपछि डुङ्गा व्यवसायी उत्साहित भएका छन् ।

फेवातालमा डुङ्गा सयरसँगै पछिल्लो समय कायकिङ गर्ने पर्यटकको चहलपहल पनि उत्तिकै बढेको छ । ताल किनारमा पर्यटकको भीड लाग्ने गरेको छ भने तालको बीच भागमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जानेहरूको समेत उत्तिकै आकर्षण देखिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले पछिल्लो समय पर्यटकको आगमन र डुङ्गा सयर गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि व्यवसायी उत्साहित भएको बताउनुभयो । उहाँका अनुसार घटस्थापनादेखि छठ पर्वसम्म दैनिकजसो ७ देखि ८ हजार आन्तरिक तथा बाह्य पर्यटकले फेवातालमा डुङ्गा सयर गर्ने गरेका छन् । दसैँलगत्तै करिब एक सातासम्म प्रतिकूल मौसमका कारण केही प्रभाव परे पनि पछिल्लो समय पर्यटकको आवागमन पुनः बढेको उहाँले बताउनुभयो ।

’हामी यतिबेला निकै उत्साहित छौँ । आज (सोमबार) पनि फेवातालमा डुङ्गा सयर गर्नेहरूको उस्तै भीड थियो । अब भोलि र पर्सि कस्तो चहलपहल हुन्छ भन्ने हेर्न बाँकी छ,’ गिरीले भन्नुभयो, ’पछिल्लो समय शैक्षिक भ्रमणका लागि विभिन्न ठाउँबाट विद्यार्थीहरू पोखरा आउने क्रम पनि सुरु भएको छ । यसले हाम्रो व्यवसायमा थप उत्साह जगाएको छ ।’ सङ्गठनमा आबद्ध व्यवसायीहरूले पर्यटकको चापलाई ध्यानमा राख्दै डुङ्गा व्यवस्थापन गरिरहेको अध्यक्ष गिरीले बताउनुभयो । सङ्गठनसँग हाल ८० वटा प्याडल बोट र ७६७ वटा काठका डुङ्गा रहेको उहाँले जानकारी दिनुभयो ।

फेवातालमा पछिल्लो समय कायकिङ गर्नेहरूको आकर्षण पनि बढ्दै गएको छ । विशेषगरी युवायुवती तथा घुम्न आएका पर्यटक कायकिङ गर्दै तालमा रमाउने गरेका छन् । तर, कायकिङ सञ्चालनमा आवश्यक मापदण्ड र नियमनको अभाव रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । कायकिङ गर्दा लाइफ ज्याकेट अनिवार्य गरिए पनि केही व्यक्तिले तालको बीच भागमा पुगेर फोटो तथा भिडियो खिच्ने क्रममा लाइफ ज्याकेट खोल्ने गरेको स्थानीयको भनाइ छ । यसले दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै उनीहरूले सम्बन्धित निकायले नियमित अनुगमन तथा प्रभावकारी नियमन गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, आफूखुसी कायकिङ सञ्चालन गर्ने, आवश्यक मापदण्ड पूरा नगर्ने तथा राज्यलाई करसमेत नतिरी व्यवसाय सञ्चालन गर्ने प्रवृत्तिले परम्परागत डुङ्गा व्यवसायीलाई समेत समस्या परेको व्यवसायीहरूको गुनासो छ । व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गरिरहेका डुङ्गा चालकलाई अव्यवस्थित कायकिङ गतिविधिले असर पारेको उनीहरूको भनाइ छ । फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माण सम्पन्न भई दसैँदेखि मूल मन्दिरमै नियमित पूजाआजा तथा दर्शनका लागि खुला भएपछि दर्शनार्थीको चहलपहल पनि बढेको छ । यसले फेवातालमा डुङ्गा सयर गर्ने यात्रुको सङ्ख्या थप बढाउन सहयोग पुगेको अध्यक्ष गिरीले बताउनुभयो ।

भूकम्पका कारण मन्दिर करिब तीन इन्च ढल्किएपछि पुनर्निर्माण गरिएको थियो । करिब १ करोड ४० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएपछि दसैँदेखि मूल मन्दिरमै पूजाआजा सुरु गरिएको हो । मन्दिर दर्शन गर्न आउने भक्तजनले डुङ्गा चढेर तालको बीचमा पुग्नुपर्ने भएकाले धार्मिक पर्यटकको आवागमनले समेत डुङ्गा व्यवसायमा सकारात्मक प्रभाव पारेको छ । दसैँ, तिहार र छठ पर्वसँगै लगातारका सार्वजनिक बिदा तथा शैक्षिक भ्रमणको मौसमले पोखराको पर्यटन गतिविधि थप चलायमान बनेको छ । फेवातालमा देखिएको पर्यटकको भीडले पोखराको पर्यटन व्यवसायमा आशा जगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button