तपाईँ सुन्दै हुनुहुन्छः

न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत

वेलिङ्टन । न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको एक उद्योग सर्वेक्षणले जनाएको छ ।

बीएनजेड–बिजनेसएनजेडले सार्वजनिक गरेको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स (पीएसआई) अक्टोबरमा ०.८ अङ्कले बढेर ५१.७ पुगेको छ । सेप्टेम्बरमा उक्त सूचक ५०.९ अंक थियो। लगातार पाँच महिनादेखि ५० अङ्कको सीमाभन्दा माथि रहेको यस सूचकले न्युजिल्यान्डको सेवा क्षेत्र निरन्तर विस्तार भइरहेको देखाएको छ । ५० अङ्कभन्दा माथिको सूचकले व्यावसायिक गतिविधिमा विस्तार र तलको सूचकले सङ्कुचन जनाउँछ ।

बिजनेसएनजेडकी प्रमुख कार्यकारी क्याथरिन रिचले पछिल्लो तथ्याङ्कलाई सेवा क्षेत्रका लागि उत्साहजनक सङ्केतका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार गर्मीयाम नजिकिँदै गर्दा व्यावसायिक गतिविधि र नयाँ कारोबार दुवैमा वृद्धि देखिएको छ ।

उहाँले नोभेम्बर ७ मा सम्पन्न आमनिर्वाचनअघि धेरै व्यवसायीले लगानी तथा अन्य महत्वपूर्ण व्यावसायिक निर्णय स्थगित गरेको बताउनुभयो । नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै रोकिएका खर्च तथा लगानीका योजना कार्यान्वयनमा आउन सक्ने उनको अपेक्षा छ ।

सर्वेक्षणअनुसार नयाँ अर्डर तथा व्यवसायसम्बन्धी उपसूचक ५३ अङ्कमा पुगेको छ भने गतिविधि तथा बिक्रीसम्बन्धी उपसूचक ५२.६ अंक कायम भएको छ । यी दुवै सूचकले सेवा क्षेत्रमा माग र कारोबार बढिरहेको सङ्केत गरेका छन् । यद्यपि, रोजगारीसम्बन्धी सूचक ४९.९ अङ्कमा रहेकाले रोजगार बजारमा अझै अपेक्षित सुधार हुन सकेको छैन ।

व्यवसायीहरूले इन्धनको मूल्यवृद्धि, जीवनयापनको बढ्दो लागत, ब्याजदर तथा राजनीतिक अनिश्चिततालाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् । तर गर्मीयामको तयारी, क्रिसमसका लागि बढ्दो बुकिङ र विदेशी पर्यटकको आगमनले सेवा क्षेत्रलाई सकारात्मक ऊर्जा दिएको छ ।

बीएनजेडका वरिष्ठ अर्थशास्त्री डग स्टिलले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने सेवा क्षेत्रमा देखिएको सुधार स्वागतयोग्य रहेको बताउनुभएको छ । उहाँका अनुसार यो गति निरन्तर कायम रहे न्युजिल्यान्डको अर्थतन्त्र व्यापक रूपमा पुनरुत्थान भइरहेको थप प्रमाण प्राप्त हुनेछ ।

सेवा क्षेत्रमा बढ्दो गतिविधिले आगामी महिनामा व्यवसाय, पर्यटन र उपभोगमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button