तपाईँ सुन्दै हुनुहुन्छः

किङ्स कप राष्ट्रिय भलिबलमा तीन विभागीय सहित ६ टोली सहभागी हुने 

पोखरा । पोखरामा आयोजना हुने प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ मा तीन विभागीयसहित ६ टोलीबिच प्रतिस्पर्धा हुने भएको छ । 

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मङ्सिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, घरेलु टोली गण्डकी प्रदेश भलिबल सङ्घ, कोशी प्रदेश भलिबल सङ्घ र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने भएको उहाँले जनाउनुभयो ।

क्लबका अध्यक्ष अशोक गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । 

खेल संयोजक बुद्ध सिंहका अनुसार सहभागी टोलीहरू प्रतियोगिताका लागि तयारी अवस्थामा रहेका छन् । 

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार, तृतीय हुने टोलीले १ लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सचिव अशोक थापाले बताउनुभयो । 

प्रतियोगिताका लागि क्लबले सिजनल टिकटको अग्रिम बुकिङसमेत खुला गरेको छ । सिजनल टिकटको मूल्य २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिताभरिका खेल अवलोकन गर्न चाहने दर्शकले अग्रिम टिकट बुकिङ गर्न सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने विभिन्न प्रायोजक, सरकारी निकाय, टिकट बिक्री, सहयोगी संस्था तथा सञ्चार माध्यम लगायतका स्रोतबाट ७१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । 

यसअघि मङ्सिर १ देखि ६ गतेसम्म सञ्चालन गर्ने तय भएको प्रतियोगिता काभा पुरुष भलिबल लिगका कारण सारिएको क्लबले जनाएको छ । भारतमा नोभेम्बर १५ देखि २२ (कात्तिक २९ देखि मङ्सिर ६ गते) सम्म आयोजना हुने काभा पुरुष भलिबल लिगमा नेपाली राष्ट्रिय टोली सहभागी हुने भएपछि राष्ट्रिय खेलाडीको सहभागिता सुनिश्चित गर्न प्रतियोगिताको मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button