उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वका अवसरमा बल्खुस्थित बागमती नदी किनारमा पुगेर पूजाआजा गर्नुभएको छ ।
बल्खु तराई समाजद्वारा आयोजित धार्मिक कार्यक्रममा उपराष्ट्रपति यादव सहभागी भएर अस्ताउँदो सूर्यलाई विधिविधानपूर्वक पूजा गर्नुभएको हो ।
सो अवसरमा उहाँले छठ पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास प्रकट गर्नुभयो । उपराष्ट्रपति यादवले मुलुकमा सामाजिक एकता र राष्ट्रिय अखण्डतालाई बलियो बनाउन सबै जाति तथा समुदायका संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय पर्वका रूपमा स्थापित छठले सबै नेपालीलाई एकताबद्ध बनाउन प्रेरणा प्रदान गर्ने बताउँदै यसको सांस्कृतिक पक्षलाई प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बल्खु तराई समाजका अध्यक्ष राजेन्द्रलाल कायस्थले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्व केही वर्ष अगाडि तराई भेगमा मात्र सीमित रहेको भए पनि अहिले पहाडी क्षेत्रमा समेत लोकप्रिय बनेको बताउनुभयो । उपराष्ट्रपति यादवले संस्कृतिकर्मीलाई सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्