प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडानको एजेण्डा समेट्न माग

नेपालगञ्ज । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई प्राथमिकताका साथ एजेण्डामा समावेश गर्न माग गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा आज नेपालगञ्जमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले पश्चिम नेपालको आर्थिक, पर्यटन तथा व्यापारिक विकाससँग प्रत्यक्ष जोडिएका यी दुई महत्वपूर्ण विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा समेट्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
बैठकले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ । त्यसैगरी, नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न आवश्यक सुख्खा बन्दरगाह निर्माणको विषयलाई पनि भारतसँगको उच्चस्तरीय छलफलमा समावेश गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा रास्वपाका बाँके जिल्ला सभापति विवेक कुमार श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधांशु कोइराला, नेकपा एमालेका प्रतिनिधि मिन बहादुर मल्ल, नेकपाका केन्द्रीय सदस्य गेहराज शर्मा (नवीन), श्रम संस्कृति पार्टीका राजन राना मगर, राप्रपाका जिल्ला अध्यक्ष अरुण प्रताप सिंह लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।
बैठकको निर्णय अनुसार मङ्गलवार बाँके जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । ज्ञापन पत्रमार्फत नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र सुख्खा बन्दरगाह निर्माणलाई प्रधानमन्त्रीको भारत भ्रमणको प्राथमिकता प्राप्त एजेण्डा बनाउन औपचारिक आग्रह गरिनेछ ।
यसअघि पनि नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनको माग विभिन्न समयमा उठ्दै आएको छ । निजी क्षेत्र, उद्योगी व्यवसायी, राजनीतिक दल तथा सरोकारवालाले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि मागले अझै मूर्तरूप लिन सकेको छैन ।







प्रतिक्रिया राख्नुहोस्