तपाईँ सुन्दै हुनुहुन्छः

यमपञ्चकको पहिलो दिन : प्रधानमन्त्री शाहद्वारा सत्य, न्याय र सुशासनको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा चाडपर्वले प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्नुभएको हो।

उहाँले कागलाई यमराजको दूतका रूपमा सम्मान गरी मीठा परिकार खुवाउने परम्पराले नेपाली संस्कृतिको मौलिकता झल्काउने बताउनुभएको छ।

यम दीपदानको परम्पराले यमराजलाई न्याय र धर्मका प्रतीकका रूपमा स्मरण गराउने उल्लेख गर्दै उहाँले धन्वन्तरी जयन्तीका अवसरमा सबैको निरोगी जीवनको कामना गर्नुभएको छ।

यसैगरी, भोलि मनाइने कुकुर तिहारले मानव सभ्यताको विश्वासिलो साथी कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्नुका साथै अन्य जीवजन्तुप्रतिको सहअस्तित्व र सद्भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशको अन्त्यमा उहाँले ‘जय देश, जय संस्कृति’ भन्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button