उदयपुरमा भूमिहीन परिवारले पाए लालपुर्जा: अव्यवस्थित बसोबासीको व्यवस्थापन अझै जटिल

उदयपुर । उदयपुरमा लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहँदै आएका १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
जिल्ला भूमि समस्या समाधान समितिका अनुसार लालपुर्जा प्राप्त गर्नेमा रौतामाई गाउँपालिकाका सबैभन्दा धेरै ६५ परिवार रहेका छन्। तीमध्ये ३९ भूमिहीन दलित र २६ भूमिहीन सुकुम्बासी छन्।
त्यस्तै, बेलका नगरपालिकाका ४३, त्रियुगा नगरपालिका–५ का २७ र कटारी नगरपालिकाका ११ परिवारले लालपुर्जा प्राप्त गरेका छन्। कटारीमा ४ भूमिहीन दलित र ७ भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका हुन्। त्रियुगा–५ मा २२ भूमिहीन दलित र ५ भूमिहीन सुकुम्बासी परिवारले लालपुर्जा प्राप्त गरेका छन्।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार हाल विशेषगरी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने काम भइरहेको छ। पुराना भूमि आयोगले तयार पारेका लालपुर्जालाई आवश्यक प्रक्रिया पूरा गरी वितरण गरिएको उहाँले बताउनुभयो।

शाहीका अनुसार भूमिहीन परिवारलाई घरबास तथा कृषि प्रयोजनका लागि न्यूनतम ४–५ धुरदेखि अधिकतम ६ कट्ठासम्म जग्गा उपलब्ध गराइएको छ। जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको यकिन तथ्याङ्क अझै प्राप्त भइनसकेको उहाँको भनाइ छ।
उहाँले जिल्लामा भूमिहीन दलित र सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासीको समस्या अझ ठूलो रहेको बताउनुभयो। जिल्लामा ६० प्रतिशतभन्दा बढी समस्या अव्यवस्थित बसोबासीसँग सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले उनीहरूको जग्गा व्यवस्थापन र लालपुर्जा वितरण प्रक्रिया तुलनात्मक रूपमा जटिल रहेको बताउनु भयो ।
यता, चौदण्डीगढी नगरपालिकामा भने लालपुर्जा वितरणको विषयमा फरक धारणा देखिएको छ। नगर प्रमुख कालुमान लामाले थोरै सङ्ख्यामा मात्र लालपुर्जा वितरण गर्नुभन्दा सबै भूमिहीन नागरिकको समस्या एकैपटक समाधान गर्ने पक्षमा नगरपालिका रहेको बताउनुभयो।
उहाँका अनुसार नगरपालिकाभित्र भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्ने काम लगभग सम्पन्न भइसकेको छ। २०–२५ जनालाई मात्र लालपुर्जा वितरण गरेर अन्य नागरिकलाई पर्खाइमा राख्न आफू तयार नरहेको बताउँदै उहाँले नगरपालिकाभित्र झन्डै ६ हजार सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो।
तर, प्रमुख जिल्ला अधिकारी शाहीले भने चौदण्डीगढी नगरपालिकाका १७५ परिवारको लालपुर्जा तयार अवस्थामा रहेको जानकारी दिनुभयो। नगर प्रमुखसँग आवश्यक समन्वय गरी ती लालपुर्जा पनि छिट्टै वितरण गर्ने तयारी रहेको उहाँको भनाइ छ।
वर्षौंदेखि आफूले बसोबास र खेतीपाती गर्दै आएको जमिनको कानुनी स्वामित्व नपाउँदा विभिन्न समस्या भोग्दै आएका भूमिहीन परिवारका लागि लालपुर्जा प्राप्ति महत्वपूर्ण उपलब्धि बनेको छ। यद्यपि, जिल्लामा ठूलो सङ्ख्यामा रहेका अव्यवस्थित बसोबासी तथा अन्य भूमिहीन परिवारको समस्या समाधान हुन बाँकी रहेकाले भूमि व्यवस्थापनको कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने देखिन्छ।








प्रतिक्रिया राख्नुहोस्