तपाईँ सुन्दै हुनुहुन्छः

३१ करोड खर्चिँदा पनि बनेन सभा हल, काँसघारीले ढाक्यो सरकारी लगानी

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ३१ करोड रुपैयाँभन्दा बढी सरकारी लगानी भइसक्दा पनि आधुनिक सभाहल निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण सुरु भएको झन्डै एक दशक बित्न लाग्दा पनि आयोजना अधुरै छ भने निर्माण भएका संरचनासमेत संरक्षण र रेखदेखको अभावमा जीर्ण बन्न थालेका छन् । करोडौँको लगानीमा बनेको भवन अहिले काँसघारीले घेरिएको छ ।

त्रियुगा नगरपालिका–१३ हवाई फिल्डस्थित थरुहट रंगशाला परिसरमा निर्माणाधीन मदन भण्डारी स्मृति सभाहल तथा अतिथि गृहको अवस्था अहिले दयनीय छ । भवनभित्र जडान गरिएका सिलिङका पाता खसेका छन्, झ्यालका सिसा फुटेका छन् भने बाहिरी परिसर झारपात र काँसघारीले ढाकिएको छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपर्ने संरचना प्रयोगमै नआई जीर्ण बन्न थालेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७२/७३ मा देशका २५ नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजनाअन्तर्गत आधुनिक सभाहल निर्माण कार्यक्रम अघि सारेको थियो । सोही योजनाअनुसार गाईघाटमा २०७४ वैशाख १० गते सभाहल निर्माण सुरु गरिएको थियो । तीन वर्षभित्र अर्थात् २०७७ वैशाख १० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयसीमा सकिएको लामो समय बितिसक्दा आयोजना अझै अधुरै छ ।

निर्माण सुरु भएको लामो समय बित्दा पनि सभाहल सञ्चालनमा आउन नसकेकोमा स्थानीय मुना दाहाल असन्तुष्ट छिन् । ‘निर्माण सुरु भएको दश वर्ष पुग्न लाग्दा पनि किन पूरा हुन सकेन, त्यो थाहा छैन । अहिले त काँसघारीले भवन नै घेरिएको छ,’ उनले भनिन् ।

डीपीआरभन्दा बढी खर्च, अझै बजेट अभाव

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजका अनुसार सभाहल निर्माणको सुरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लागत २४ करोड १३ लाख ५४ हजार ६२३ रुपैयाँ थियो । पहिलो चरणमा रविना÷जोशी÷पवित्रा जेभीले २४ करोड नौ लाख रुपैयाँभन्दा बढीमा निर्माणको ठेक्का पाएको थियो । तर, निर्माणमा ढिलाइ भएपछि लागत परिमार्जन गरी २७ करोड ७० लाख १६ हजार ३५१ रुपैयाँ पुर्‍याइएको साइट इन्जिनियर सुशील चौधरीले बताए ।

पहिलो ठेकेदार कम्पनीले काममा ढिलाइ गरेपछि बाँकी निर्माणका लागि दोस्रो पटक ठेक्का लगाइएको थियो । दोस्रो चरणको निर्माणको जिम्मा काठमाडौँको सुनकोसी कन्ट्रक्सनले १८ करोड दुई लाख १६ हजार रुपैयाँमा पाएको थियो । २०७९ मङ्सिर १४ गते सम्झौता भएको उक्त ठेक्का २०८१ जेठ १३ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि काम पूरा नभएपछि दुई पटक म्याद थप गरिएको छ ।

साइट इन्जिनियर चौधरीका अनुसार सभाहल निर्माणमा हालसम्म ३१ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, पार्किङ, फिनिसिङ लगायतका काम सम्पन्न गर्न अझै बजेट अभाव छ । पहिलो चरणको निर्माण गर्ने कम्पनीको केही बिलसमेत भुक्तानी हुन बाँकी रहेको उनले बताए ।

पहिलो चरणको ठेकेदार कम्पनी रविना/जोशी/पवित्रा जेभीका सञ्चालक सुदीप खत्रीले आफ्नो कम्पनीको तीन करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको दाबी गरेका छन् । सम्झौताअनुसार काम गर्न नदिइएको आरोप लगाउँदै उनले भुक्तानीका लागि उच्च अदालत पाटनमा मुद्दासमेत दायर गरेको बताए ।

त्यस्तै, दोस्रो चरणको निर्माणमा कार्यरत इन्जिनियर निरज कर्णले विदेशबाट ल्याउनुपर्ने निर्माण सामग्री समयमा उपलब्ध नहुँदा काम प्रभावित भएको बताए । उनका अनुसार कुर्सी, कार्पेट, वाल प्यानल र साउन्ड सिस्टम लगायतका काम अझै सम्पन्न हुन सकेका छैनन् ।

१५ सय क्षमताको सभाहल सञ्चालनको प्रतीक्षामा

करिब दुई बिघा क्षेत्रफलमा फैलिएको सभाहलमा एक हजार पाँच सय क्षमताको ठूलो र पाँच सय क्षमताको सानो गरी दुईवटा सभा कक्ष निर्माण गरिएका छन् । यसबाहेक पार्किङ, शौचालय, अतिथि गृह, चमेना गृह तथा कर्मचारी आवास लगायतका संरचना निर्माण गर्ने योजना छ ।

सभाहल सञ्चालनमा आएपछि जिल्ला स्तरीय सभा, सम्मेलन, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सार्वजनिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको थियो । 

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले समेत देशभर निर्माण सुरु गरिएका ३३ वटा सभा हलमध्ये कतिपय सम्पन्न हुन नसकेको उल्लेख गर्दै लागत, समय र प्राप्त हुने प्रतिफलका आधारमा आयोजना प्राथमिकीकरण गर्नुपर्ने औँल्याएको थियो । गाईघाटको सभाहल पनि सोही सूचीमा परेको आयोजना हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button