बाँकेका २५ हजार हेक्टरमा पुग्यो सिक्टाको पानी, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
बाँके। निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ ।

आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत सङ्कलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो ।
सिँचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर लगत सङ्कलन गरिएको हो ।
“सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भन्नुभयो, “लगतका आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माणसहित जल व्यवस्थापनको काम गर्नेछ ।”
पश्चिमी मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखाका उपभोक्ता किसानसँग लगत सङ्कलनका लागि छलफल गरिएको उहाँले बताउनुभयो ।
आयोजनाको आगामी योजना निर्माणमा सहजता ल्याउन सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन गरिएको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार पूर्वी मूल नहरअन्तर्गतका किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्देशक आचार्यका अनुसार आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । हालसम्म पूर्वाधार निर्माणमा करिब रु २४ अर्ब खर्च भएको छ । मर्मतसम्भारको काम नियमित रूपमा भइरहे पनि निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०६२/६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाको पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्