तपाईँ सुन्दै हुनुहुन्छः

शैलुङ घुम्न आएका ६५ वर्षीय सिङ्गापुरका नागरिकको मृत्यु

दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङ भ्रमणमा पुगेका सिङ्गापुरका ६५ वर्षीय नागरिक प्यान्ली हन्ट जेरेमियाको मृत्यु भएको छ।

गत कात्तिक १३ गते शैलुङ पुगेका जेरेमिया सोही राति सुतेकै ठाउँमा अचानक बेहोस भएका थिए। उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा कात्तिक १४ गते शनिबार बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो।

प्रहरीका अनुसार मृतक जेरेमिया आफ्नी श्रीमती र नेपाली साथी भोलानाथ न्यौपानेसँगै शैलुङ घुम्न आएका थिए। उनीहरू कात्तिक १३ गते शैलुङ नजिकैको ढुङ्गेस्थित एक होटलमा बास बसेका थिए। राति ओछ्यानमै बेहोस भएपछि उनलाई तत्कालै स्थानीय देउराली मेडिकल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल लैजाने क्रममा बाटोमै उनको निधन भएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो।

मृतक जेरेमियाको शव परीक्षण (पोस्टमार्टम) का लागि काठमाडौँस्थित शिक्षण अस्पताल (टिचिङ) मा राखिएको छ। पोस्टमार्टम प्रक्रिया सकिएपछि शव श्रीमतीलाई बुझाइने प्रहरीले जनाएको छ।

मृतकका साथी भोलानाथ न्यौपानेका अनुसार सिङ्गापुरबाट उनका आफन्तहरू नेपाल आउँदै छन्। आफन्तहरू आइपुगेपछि शवलाई अन्तिम संस्कारका लागि सिङ्गापुर नै लैजाने तयारी गरिएको छ।

गत असोज ३० गते नेपाल आएका जेरेमिया दम्पती इलाम, फिक्कल, नवलपुरलगायतका पर्यटकीय स्थलहरूको भ्रमण गर्दै कात्तिक १३ गते दोलखाको शैलुङ पुगेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button