तपाईँ सुन्दै हुनुहुन्छः

१० औँ राष्ट्रिय खेलकुदका लागि डडेलधुराबाट खेलाडी छनौट प्रक्रिया सुरु

डडेल्धुरा । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै डडेल्धुरामा जिल्ला छनौट प्रतियोगिता सुरु भएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशस्तरीय प्रतियोगिताका लागी जिल्लाको प्रतिनिधित्व गर्न खेलाडी छनौट प्रक्रिया शनिवारबाट सुरु भएको हो । 

अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजित प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले गर्नुभएको थियो । खेलकुदमा महिला खेलाडीको सहभागिता बढाउनुपर्ने र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा सदस्य अबस्थीको जोड थियो । 

जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा खेलाडी छनौट गरिने भएको छ ।  

जिल्लामा प्रशिक्षकको अभाव रहेको र खेलाडीहरू आफ्नै लगानीमा खेल जीवन अघि बढाउन बाध्य क्रिकेट संघका प्रदेश अध्यक्ष वासुदेव जोशीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले चुनौतीका बाबजुद खेलाडीले लगनशीलता, आत्मविश्वास र निरन्तर प्रदर्शनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

डडेल्धुरा जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीका अनुसार प्रतियोगिताका १७ विधामा ४३५ खेलाडीले नाम दर्ता गराएका छन् । तीमध्ये प्रदेशस्तरीय छनोटका लागि २४८ खेलाडी सहभागी हुनेछन । प्रतियोगितामा भलिबल, खोखो, ह्यान्डबल, क्रिकेट, टेबल टेनिस, तेक्वान्दो, कराँते, बास्केटबल, उसु, कबड्डी, बुद्धिचाल, एथलेटिक्स, फुटबल, बक्सिङ, आईटीएफ तेक्वान्दो, बुदोकैदो फुलकन्ट्याक्ट कराँते र ब्याडमिन्टन खेल समावेश छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button