तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप सुरु

नेपालगन्ज । नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा नबिल बैङ्क तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गर्नुभयो । नगर प्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

दुई दिने प्रतियोगिताको शनिबार दिउँसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएकोमा ललितपुरको सगरमाथा स्विमिङ क्लबले ११ वटा स्वर्ण पदक जितेर अग्रता लिएको छ । नयाँ दिल्ली भारतको इलाइट स्विमिङ एकेडेमीले ४ स्वर्ण, ललितपुरको रातो बंगला र मपिल क्यानेडियन स्कुल काठमाडौँ एउटा एक स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता लिइरहेका छन् ।

अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात् १७ वर्ष भन्दा बढी उमेरका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरूका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेडल गरी ६ छुट्टाछुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । शनिबार केही प्रतियोगिताको हिट चरण सम्पन्न भई आइतबार फाइनल प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्विमिङ एसोशियसनसंग सहकार्य गरेर आयोजन गरिएको  नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीपमा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरू सहभागी भएका छन् । च्याम्पियनसिपलाई नबिल बैकले टाइटल स्पोन्सर गरेको छ । स्विमिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका स्विमिङ खेलप्रेमी उद्योगी, व्यवसायी, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, चार्टर एकाउन्टेड, सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरूको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्विमिङ क्लब हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button