सुर्खेतमा विषादीरहित पोषणयुक्त खाद्यान्न प्रवद्र्धन अभियान सुरु
सुर्खेत । कृषि उपजमा रासायनिक विषादीको प्रयोग कम गरी जनस्वास्थ्यको रक्षा गर्ने कार्य सुरु भएको छ ।
जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको ‘पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण सम्बन्धि’ सरोकारवालाबिच अन्तरक्रिया तथा समन्वयात्मक बैठकमा दैनिक खाने खानामा विषादी न्यूनीकरण गरी जनस्वास्थ्यको रक्षा गर्ने कार्य शुरु गर्न लागिएको जानकारी गराइएको हो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख करुणा भट्टराईले जिल्लामा विषादी प्रयोगको अवस्था विश्लेषण गर्ने, सरोकारवाला निकायको सहकार्यमा विषादी नियन्त्रण तथा विषादीको समुचित प्रयोग अभियान सञ्चालन गरिन बताउनुभयो ।
कार्यक्रममा कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले नेपालमा विषादीको इतिहास, बाली अनुसार विषादीको प्रयोगको अवस्था, सुरक्षित विषादीको प्रयोग, विषादीले मानव स्वास्थ्यमा पारेको नकारात्मक असरहरू, विषादी न्यूनीकरण तथा व्यवस्थापनमा सरोकारवालाहरूको भूमिका, प्राङ्गारिक कृषि जैविक विषादीको प्रयोग, असल कृषि अभ्यास, एकीकृत शत्रु जीव व्यवस्थापन लगायतका विषयमा जानकारी दिनुभयो । मानव शरीरमा विषादीको प्रवेश खानेकुरा, हावा, पिउने पानीबाट हुने बताउँदै उहाँले विषादीको समुचित व्यवस्थापनको लागि सरोकारवाला निकायहरूको भूमिका अति आवश्यक भएको बताउनुभयो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले कृषि उपजमा रासायनिक विषादीको प्रयोग कम गरी जनस्वास्थ्यको रक्षा गर्न सरकारी पक्षसँगै उत्पादक, वितरक तथा आम उपभोक्ताको विशेष भूमिका आवश्यक रहेको औँल्याउनुभयो ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले उत्पादकत्व बढाउन औषधीकै रुपमा बालीनालीमा विषादीको प्रयोग गरिँदा जनस्वास्थ्यमा नकारात्मक असर पुगिरहेको बताउनुभयो ।
पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरणका लागि नीतिगत रूपमै अघि बढ्न आवश्यक रहेको औँल्याउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्रीराम न्यौपानले जलवायु परिवर्तन, वातावरण, माटोको उर्वरा ह्रासका कारण विषादी प्रयोग नगरी उत्पादन नहुने अवस्था बनेको जानकारी दिनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीले यस्ता अभिमुखीकरण कार्यक्रमले पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एकीकृत कृषि प्रयोगशालाकाका माटो विज्ञ मोहन आचार्य, वीरेन्द्रनगर नगरपालिकाका कृषि विकास अधिकृत हेमराज केसी, पशु रोग अन्वेषण प्रयोगशाला कर्णाली प्रदेशका पशु चिकित्सक विष्णुप्रसाद ढकाल, स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ पब्लिक हेल्थ नर्सिङ प्रशासक मानकुमारी गुरुङ, पोषण फोकल पर्सन भुवन गिरी, नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्ष मधुवन बिसी, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्