तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनजंघा क्षेत्रमा भारी हिमपात र वर्षा

'२५० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक बाटोमै रोकिए'

ताप्लेजुङ । ‘अर्नब’ चक्रवातका कारण ताप्लेजुङमा बिहीबार साँझदेखि परेको बाक्लो हिउँ र अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात र पहाडी भू-भागमा निरन्तर वर्षा भइरहेको छ।

पर्यटन तथा आरोहणको अनुकूल मौसममा कञ्चनजंघा क्षेत्र पुगेका २५० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिक हिमपातका कारण बीच बाटोमै रोकिएका छन्। कञ्चनजंघा हिमाल आसपासका लोनाक, सेलेले र खाम्बाछेन क्षेत्रमा बाक्लो हिउँ परिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्साका पर्यटक सहायक टाँसी शेर्पाले जानकारी दिए। बाक्लो हिउँ पर्न थालेपछि उपल्लो बेसक्याम्प पुगेका पर्यटकहरू घुन्सातर्फ झर्न थालेका छन् भने धेरैजसो सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन्।

संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकअनुसार हाल कञ्चनजंघा क्षेत्रका विभिन्न क्याम्पहरूमा भारतीय र युरोपेली गरी १९० भन्दा बढी विदेशी र सोही संख्यामा स्वदेशी पर्यटकहरू रहेका छन्। पर्यटकको चाप बढेसँगै घुन्साका होटलहरू पूर्ण रूपमा भरिभराउ छन्। घुन्सा र ग्याब्ला आसपासका डाँडाकाँडामा लगातार हिउँ र पानी परिरहेको स्थानीयले बताएका छन्।

यस्तै, जिल्लाको ओलाङचुङगोलास्थित सिजनेमा ताल अवलोकनका लागि पुगेका १६ जना स्वदेशी र उच्च हिमाली जैविक विविधताबारे अध्ययन-अनुसन्धान गर्न पुगेका ९ जना विदेशीसहित ४० भन्दा बढी पर्यटक ओलाङचुङगोलामा सुरक्षित रहेको फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिए। जिल्लाकै मिक्वाखोला गाउँपालिकाको लोदेन क्षेत्र र सिरिजंघाको याम्फुदिन लगायतका क्षेत्रमा रहेका पर्यटकहरू पनि सुरक्षित रहेको जनाइएको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार हालसम्म प्रतिकूल मौसमका कारण कुनै अप्रिय घटना वा विपत् भने भएको छैन। कञ्चनजंघा क्षेत्रमा रहेका २५० पर्यटकमध्ये ३६ जना ललेप आइपुगेको प्रजिअ दाहालले बताउनुभयाे।

मौसम प्रतिकूल रहेकाले उच्च सावधानी अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय तथा फक्ताङलुङ गाउँपालिका लगायत स्थानीय तहहरूले सार्वजनिक सूचना जारी गरेका छन्। वर्षा र हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार सुनसान बनेको छ भने सवारी साधनको आवतजावत समेत निकै कम भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button