तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा १० लाख लगानीमा दुई बिघामा सयपत्री फूलखेती

बाँके। तिहार नजिकिँदै गर्दा फूलको माग बढ्ने समयलाई लक्षित गरी बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका–५ मटेहियामा व्यावसायिक रूपमा सयपत्री फूलखेती गरिएको छ ।

स्थानीय तीन युवा सुवाष जंग शाह, कृतिराज दीक्षित र सुशीलकुमार मौर्याले करिब १० लाख रुपैयाँ लगानीमा दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको हो । उहाँहरूले १२ हजार बिरुवा रोप्नुभएको छ । यसबाट करिब १० हजार किलोग्राम फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

फूल अहिले बिक्रीका लागि तयार अवस्थामा रहेको कृषक कृतिराज दीक्षितले बताउनुभयो । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले नेपालगञ्ज र कोहलपुरलाई मुख्य बजार बनाएर बिक्री गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार फूल खरिद गर्न चाहने ग्राहकलाई घरसम्मै पुर्‍याउने व्यवस्था मिलाइँदैछ । त्यसैगरी नेपालगञ्जमा बिक्री केन्द्र (स्टल) राखेर पनि फूल बिक्री गरिनेछ । स्थानीय उत्पादनलाई बजारमा पुर्‍याउँदै भारतीय फूलको आयातमा निर्भरता घटाउने उद्देश्यले खेती सुरु गरिएको दीक्षितले बताउनुभयो ।

तिहारमा घर, आँगन र पसल सजाउन तथा लक्ष्मीपूजामा प्रयोग हुने सयपत्री फूलको माग उल्लेख्य हुने गर्दछ । तराईका बजारमा यसअघि तिहारका बेला भारतीय फूलमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय उत्पादनबाटै माग पूरा गर्ने प्रयास गरिएको कृषकहरूको भनाइ छ ।

नरैनापुर गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा गरिएको फूलखेतीको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले फूलखेती राम्रो अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत वलीले व्यावसायिक फूलखेती गर्ने कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष योजना ल्याउने तयारी गरेको जानकारी दिनुभयो । तिहारका बेला फूल खरिद गर्न भारतीय बजार जानुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य गर्न स्थानीय उत्पादनले सहयोग पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नरैनापुरमा सुरु भएको यस फूलखेतीले तिहारका लागि स्थानीय बजारमा फूलको आपूर्ति बढाउनुका साथै कृषकको आम्दानी वृद्धि र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी वर्षमा फूलखेती विस्तारको सम्भावनासमेत देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button