तपाईँ सुन्दै हुनुहुन्छः

बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइयो

नेपालगञ्ज । बडा दसैँको सप्तमीका अवसरमा नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा शनिबार धुमधामका साथ फूलपाती भित्र्याइएको छ । मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा फूलपाती भित्र्याएको हो ।

सो क्रममा विशेष पूजाआजा गरिएको थियो । फूलपाती भित्र्याउने क्रममा बागेश्वरी मन्दिर परिसरमा विशेष रौनक छाएको थियो । हरेक वर्षको विजयादशमीको सप्तमीका दिन यसरी नै फूलपाती भित्र्याउने परम्परा रहिआएको छ । फूलपातीको भित्र्याइँदै गर्दाको अवसरमा नेपाली सेनाले हर्ष बढाई गरेको थियो । बागेश्वरी मन्दिरमा फूलपातीको बढाई हेर्न सर्वसाधारण भक्तजनहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो । यसका साथै सर्वसाधारणले पनि घरघरमा फूलपाती भित्र्याएका छन् ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा सप्तमीका दिन उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button