पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताउनुभयो ।
हनुमान ढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती

यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमान ढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमान ढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।
जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपालीको सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको हो ।
यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।
हनुमान ढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेलसम्म हनुमान ढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने कहिले संस्कृति मन्त्री त कहिले सचिव उपस्थित हुने गरेकामा यस वर्ष मन्त्री र सचिव उपत्यका बाहिर रहनुभएकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानागङलगायत अधिकारीहरूको सहभागिता रहेको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
हनुमान ढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।
फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेष गरी खाद्यसामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ ।








प्रतिक्रिया राख्नुहोस्