तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीकोट दरबारमा भित्र्याइयो फूलपाती

कास्की । शाह वंशीय शासनको पहिलो दरबार कास्कीकोटमा फूलपाती भित्र्याइएको छ । 

फूलपातीको दिन आज विधिवत् रूपमा पूजाआजासहित फूलपत्रको डोली प्रवेश गराइएको हो । राष्ट्र शान्तिको कामना गर्दै दरबारमा नवदुर्गा महोत्सव समेत चलिरहेको छ । 

कास्कीकोटमा पोखरा रामघाटबाट फूलपत्र लैजाने प्रचलन छ । फूलपत्र भित्र्याएसँगै यहाँका कुँवर जातिले सैन्य अभ्यास गर्ने सरुन खेल देखाएका थिए । गुप्तकालिका काश्यप धार्मिक क्षेत्र विकास समितिले हरेक वर्ष पुरानो रीतिलाई जोगाइराख्न प्राचीन शैलीबाटै दसैँ मनाउने गर्छ ।

पहिले देश र जनताको तथा राजाको भलो सोचेर गरिने तान्त्रिक तथा वैदिक पूजा यो वर्ष राष्ट्रमा भइरहेको बिपती तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामना गरिएको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताउनुभयो ।

गुप्तकालिका मन्दिरमा परापूर्वकालदेखि पर्व विशेषमा विभिन्न पूजा गर्ने चलन रहेको सचिव ठाकुरप्रसाद त्रिपाठीले बताउनुभयो । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको त्रिपाठीले बताउनुभयो ।

कास्की दरबारको टुडीखेल (कुलमण्डल पार्क) मा नेपाली सेनाद्वारा पहिलो पटक फूलपाती बढाई समेतको सुरुवात गरेको छ । यस वर्ष १० दिनसम्म कोत घरमा पाणा पुजारीसहित राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button