“दिगो विकासका लागि यथार्थ परक तथ्याङ्क सङ्कलन आवश्यक”
जनकपुरधाम । मुलुकको समृद्धि र विकासका लागि यथार्थपरक तथ्याङ्कको सङ्कलन हुनु पर्ने आवश्यकतामा यस क्षेत्रका विज्ञहरुले जोड दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क समन्वय कार्यालय धनुषाको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको तथ्याङ्क सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञहरुले सो कुरामा जोड दिनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष मधेश प्रदेशको सहयोगमा भएको कार्यक्रममा सहभागीहरूले दिगो तथा यथार्थ विकासका लागि तथ्याङ्कको सङ्कलन र व्यवस्थापनमा संघ, प्रदेश तथा स्थानीय तहका बीचमा अन्तर सम्बन्ध हुनुपर्ने धारणा राख्नुभयो । नेपालमा तथ्याङ्क सम्बन्धि कानून सर्वेक्षण अनुमति प्रणालीको कार्यान्वयनमा तीनै तहका सरकारका बीचमा समन्वय तथा सहकार्य हुनुपर्नेमा सहभागीहरूले जोड दिनुभयो ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य नवल किशोर यादवले कुनै पनि देशको विकासको योजनाको निर्माण गर्दा तथ्याङ्कलाई आधार बनाएर निर्माण गर्ने भएकाले तथ्याङ्कको सङ्कलन तथा विश्लेषण यथार्थमा आधारित हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले यथार्थ परक तथ्याङ्कको आधारमा देशको विकाससम्बन्धी योजना निर्माण गर्ने भएकाले नेपालमा तथ्याङ्कको सङ्कलन तथा प्रशोधन विश्वका विकसित मुलुक भन्दा कमजोर नभएको बताउनुभयो । उहाँले तथ्याङ्कमा विवरण दिनबाट छुट्नेको संख्या घट्दै गएको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले तथ्याङ्कको आधारमा नै कुनै देशको समृद्धि र विकासका लागि योजनाको निर्माण हुने भएकाले यस्ता प्रकारको कार्यक्रमबाट तथ्याङ्क संशोधन, एकीकरण, अनुमति तथा प्रमाणीकरणमा मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो ।
तथ्याङ्क समन्वय अधिकारी शिवनारायण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश, स्थानीय तहमा तथ्याङ्कको क्षेत्रमा काम गर्ने कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्